प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीति थप गिजोलिएको छ । कांग्रेसको अप्रत्याशित निर्णयले संसद् प्रतिपक्षविहीन मात्र भएको छैन ।
अबको सत्ता सञ्चालनको शक्ति सन्तुलनसमेत खजमजेको छ । अर्थात, अनैतिक रुपमा प्रमुख प्रतिपक्षी दलले भागशान्ति खोज्ने बाटो समातेको छ । संघीय सरकारमा कांग्रेसको प्रतिनिधित्व नहुने निश्चित भए पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा कांग्रेसले खुलेरै भाग खोजेको छ ।
सत्तारुढ दलहरुसँगै सहयोग माग्ने निर्णय गरिसकेको छ । मुख्य त कांग्रेसले राष्ट्रपति ताकेको छ । सभामुख दाबी गर्नु चाहिँ संसदीय अभ्यासमा जायज नै मानिन्छ । किनकी, संसदीय अभ्यासमा सभामुख प्रतिपक्षीलाई दिनुपर्छ भन्ने आधारभूत मान्यता छ ।
अनपेक्षितरुपमा धोका दिएको नेकपा माओवादी केन्द्रसँग कांग्रेसले तत्कालका लागि सबथोक भुलेर प्रगाढ मित्रवत सम्बन्धको कोसिस गरिरहेको छ । कांग्रेसलाई आशा के छ भने, गोप्य रुपमा हुने राष्ट्रपति निर्वाचनको मतदानमा माओवादीको साथ मिल्नेछ ।
कांग्रेसलाई राम्रै हेक्का भएको कुरा के हो भने भने, नेकपा एमाले र माओवादीबीच सत्ता साझेदारी भए पनि चित्त माझामाझ भएको छैन । दुबै दल एकअर्कालाई आशंका गरिरहेका छन् । यस्तो अवस्थामा एमाले–माओवादीमा फाटो ल्याउन सके फाइदा हुनेछ ।
एमाले–माओवादीमा फाटो ल्याउनकै लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हो । र, कांग्रेसको उक्त कदमपछि कांग्रेसकै बुझाइ अनुसार एमालेमा आशङ्काको वातावरण बढेको छ ।
राष्ट्रपति र सभामुख निर्वाचनमा माओवादीले धोका दिनसक्ने एमालेको चिन्ता हो । प्रधानमन्त्रीले विश्वासको मत लिएको दिन नै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सर्थनमा शंका व्यक्त गरेका थिए । तर, कांग्रेसको प्रयास असफल हुने पनि ओलीको दाबी थियो ।
एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बारम्बार छलफल चलिरहेको छ । प्रधानमन्त्रीले ओलीलाई ढुक्क हुन आग्रह गरिरहेका छन् तर ओली ढुक्क हुन सकेका छैनन् । किनकी, माओवादीले थोरै मात्र गडबड गरे एमालेले धेरै क्षति ब्यहोर्नुपर्नेछ ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री क्वार्टरदेखि डेरा खोजेर धुम्बाराही सरेका छन् । आजकल दिनहुँजसो कांग्रेस बैठक धुम्बाराहीमा बस्छ । र, देउवा ढुक्कसाथ भन्न थालेका छन्, ‘केही दिनमा केही न केही पक्कै हुन्छ ।’
यसैबीच, शनिबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुख निर्वाचनमा कांग्रेससँग पनि छलफल गरिने बताएका छन् । हुन त प्रधानमन्त्रीले सर्वदलीय बैठक बस्ने कुरा गरेका हुन् । तर, प्रधानमन्त्रीको यो भनाइले बालकोटमा थप त्रास उत्पन्न गराएको छ ।
पछिल्लो राजनीतिक गतिविधि हेर्दा नेपाली राजनीतिमा आजभोली नै केही न केही अनपेक्षित घटनाक्रम हुने सङ्केतहरूमा देखिन्छ । त्यसमा एमाले नेता कार्यकर्ताको व्यवहारले भूमिका खेल्ने बुझिन्छ ।
पाँच वर्षसम्म सत्ता बाहिर बस्नुपर्ने अवस्थामा पुगेको एमाले माओवादीका कारण सत्तामा आएको छ । तर, सत्तामा आएपछि एमालेका नेता कार्यकर्तामा दम्भको पारो उकालो चढेको माओवादी नेता कार्यकर्ताले आभास गरेका छन् ।
केन्द्र सरकारको भागबन्डादेखि प्रदेश सरकार गठनसम्ममा एमालेले करिब–करिब एक्लौटी हालिमुहाली गर्न खोजेको माओवादी नेता कार्यकर्ताको बुझाइ छ । एमालेजनमा चढेको घमण्डको पारोले राष्ट्रपति निर्वाचनमा असर पार्नसक्ने विश्लेषण हुने गरेको छ ।
अभूतपूर्व विश्वासको मत पाएपछि प्रचण्ड ढुक्क छन् । अब एमाले, राप्रपा लगायतले विश्वासको मत फिर्ता लिए पनि प्रचण्ड सरकार ढल्ने सक्दैन । यस्तो अवस्थामा जे पनि हुनसक्ने अवस्था देखिन्छ ।
विश्वासको मतका रुपमा कांग्रेसले फ्याँकेको पासाले केही न केही तरंग पैदा गरेसँगै धुम्बाराहीमा आशाको सञ्चार भएको छ भने बालकोटमा त्रासको पारो उकालो चढेको छ । तर, माओवादी इमानदार रुपमा प्रस्तुत हुने हो भने कांग्रेसको पासा निस्तेज हुने देखिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं