सूचनाको शक्ति - The Power Of Information

        

पोखरा विमान दुर्घटना

‘बढी टर्निङ् लिन खोज्दा विमान दुर्घटना’

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमान चालकले बढी टर्निङ् लिन खोज्दा जहाज दुर्घटनामा परेको अनुमान छ ।

कामाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै बढी टर्निङ् लिन खोज्दा दुर्घटनाग्रस्त भएको अनुमान लगाइएको छ ।

चालक दलका चार सदस्य र ६८ जना यात्रु बोकेर विहान १० बजेर ३३ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरण हुनै लाग्दा सेती खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

पोखराको मौसम पनि सामान्य र त्यहाँको भौगोलिक अवस्था पनि सामान्य नै रहेका कारण विमान के कारणले दुर्घटनामा पर्यो भन्ने चासोको विषय बनेको छ । दुर्घटनाको विषयमा छानविन हुन बाँकी छ ।

तर, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमान चालकले बढी टर्निङ् लिन खोज्दा जहाज दुर्घटनामा परेको अनुमान छ । सामान्य मौसम र पोखराको भूगोलमा विमान दुर्घटना साह्रै दुःखद भएको उनले बताए ।

उनले भने, ‘दुर्घटनाको विस्तृत अध्ययन त पछि हुँदै गर्ला तर पश्चिमबाट ल्याण्ड गर्दा टर्निङ लिन समस्या छ भन्ने सुनेका थियौँ । विमान चालकले टर्निङ् बढी लिन खोज्दा दुर्घटनामा पर्यो कि भन्ने अनुमान छ ।’

उनले बताएअनुसार यो जहान नयाँ टेक्नोलोजी युक्त जहाज हो । जसमा एउटा इन्जिनले काम गर्न छाडे पनि अर्को इन्जिनको सहायताले जहाजलाई अवतरण गर्न सकिने अवस्था हुन्छ । अहिले भएको दुर्घटना चालकले पश्चिम दिशाबाट ल्याण्ड गर्न खोज्दा भएको हो ।

सामान्यतयाः यो विमानस्थलमा पूर्वबाट नै विमान ल्याण्ड गरिँदै आइएको थियो । काठमाडौंबाट जाँदा पूर्व दिशा नै सजिलो पर्ने भएका कारण पूर्व दिशाबाट ल्याण्ड गर्ने गरिएको उनको भनाइ छ ।

तर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पश्चिम दिशाबाट पनि ल्याण्ड गर्न मिल्छ । पाइलटले पश्चिम दिशाबाट ल्याण्ड गर्नका लागि बढी टर्निङ् लिन खोज्दा जहाज दुर्घटना भएको आशंका गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १५:४५