सूचनाको शक्ति - The Power Of Information

        

पोखरा विमान दुर्घटना अपडेट

सेती खोंचसम्म विमान सम्पर्कमै, काठमाडौंबाट उडेको १८ मिनेटमै दुर्घटना

विमान दुर्घटनास्थलबाट निकालिएका शव गण्डकी अस्पतालमा राखिएको छ । यता त्रिभुवन विमानस्थलमा आक्रोशितहरु भन्छन्, ‘तीन घण्टा भइसक्यो, हाम्रा आफन्तको स्थिति भनिदिनुहोस् ।’

यति एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमा पोखरा स्थित सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यति एयरको एनवाइटी–६९१, ९ एन–एएनसी विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको थियो ।

‘सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात विमान दुर्घटना भएको छ,’ नागरिक उडड्यन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विमान ५३ जना नेपाली, पाँच भारतीय, चार जना रशियन नागरिक, एक जना आयरल्याण्ड, एक अस्ट्रेलियन, एक अर्जेन्टिनी, दुई कोरियन र एक जना फ्रान्सेली नागरिक सवार थिए ।

विमानमा चार जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । दुर्घटनामा परेको जहाज दुर्घटनाअघिसम्म सम्पर्कमै रहेको पाइएको छ । अन्तिमक पटक १०ः५० मा सम्पर्कमा आएको पाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार काठमाडौंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग १०ः५० मा सम्पर्कमा आएको थियो । सो बेला जहाज सेती खोंच भन्ने स्थानमा थियो । त्यसपछि जहाज दुर्घटनामा परेको हो । दुर्घटनाको कारण अझै खुलेको छैन ।

काठमाडौंबाट पोखरासम्मको उडान दूरी २५ मिनेटको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु थिए । केन्द्रका अनुसार पोखरामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन भएका थिए । थप हेलिकप्टरसमेत तयारी अवस्थामा रहेको केन्द्रले जनाएको छ ।

विमान दुर्घटनास्थलबाट निकालिएको शव गण्डकी अस्पतालमा

विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले बताए ।

उद्धार कार्य जारी रहेको र काठमाडौँमा एयर एम्बुलेन्स र अस्पतालहरुसँग समन्वय गरिएको गण्डकी प्रदेशका डीआइजी रामदत्त जोशीले बताए । जोशीले भने, ‘घाइतेहरुको उपचारका लागि काठमाडौंमा एयर एम्बुलेन्स र अस्पतालसँग समन्वय गरेका छौं ।’ उद्धारमा नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी खटिएका छन् ।

त्रिभुवन विमानस्थलमा आक्रोश, ‘तीन घण्टा भइसक्यो, हाम्रा आफन्तको स्थिति भनिदिनुहोस्’

आफन्त चढेको विमान दुर्घटना भएको खबर थाहा पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तहरु आक्रोशित भएका छन् ।दुर्घटनामा परेका आफन्तहरुको स्थिति बुझ्न पोखरा जान चाहे पनि पोखरा जाने व्यवस्था नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।उनीहरु यति एयर र विमानस्थल कार्यालयप्रति आक्रोशित भएका छन् ।

पोखरामा यति एयरको विमान दुर्घटनामा परेपछि पोखराका सबै उडान रोकिएको छ । दुर्घटनामा परेको विमानमा रहेका एक यात्रीका आफन्तले भने, ‘हाम्रो आफन्त दुर्घटनामा परेको छ, अहिलेसम्म खोज खबर केही छैन, कम्तीमा मलाई पोखरा पुर्याइदिए पनि त म केही गर्थे ।’ अर्का यात्रीका आफन्तले यति एयरका कर्मचारीसँग प्रश्न गरे, ‘तीन घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ ? त्यो त भनिदिनुहोस् ।’

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १४:०६