सूचनाको शक्ति - The Power Of Information

        

पोखरा विमान दुर्घटना अपडेट

विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए । विमानमा सवार कोही जीवित नरहेको अनुमान गरिएको छ ।

उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।

‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’ खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १२:५१