सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

ओलीको रंग रमाइलोबाट मुलुक दुर्घटनामा जाँदैछ : घनश्याम भुसाल

‘हलो र घण्टीलाई दुईतिर राखेर बालकोटबाट शासन चलाउन नपाए ओलीले संसद् विघटन गर्छन् ।’

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । राजधानीमा आज आयोजित पार्टी प्रवेश स्वघोषणा कार्यक्रममा उनले माधवकुमार नेपाल नेतृत्वको पार्टी प्रवेश गरेको घोषणा गरेका हुन् ।

यद्यपि, उनले आफू पार्टी प्रवेश नगरेको भन्दै सदस्यता नविकरणमात्र गरेको तर्क गरेका छन् । ‘म प्रवेश गरेको भन्दा पनि नेकपा एसमा सदस्यता रिन्यु गरेको हुँ । नेकपाको खास नेकपा एस हो । मैले ९ औं महाधिवेशनका काम बाँकी छन् भनेर पत्र लेखेँ र नेकपा एसमा मेरो सदस्यता रिन्यु गरुदिनुस् भनेर भने,’ उनले भने ।

उनले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता भएपछि बनेको कार्यदिशा लागू भएको भए अहिले देशमा कृषि क्रान्ति भइसक्ने बताए । ‘कृषिमा आधारित उद्योगको आधार बनिसक्थ्यो । पाँच वर्ष असाधारण हुन्थ्यो हाम्रा लागि,’ उनले भने, ‘अहिले जस्तो भ्रष्टाचारमा खरदार मुखिया पक्राउ पर्ने अरु उम्कने स्थिति हुँदैन थियो ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देशले ठूलो अवसर गुमाएको समेत बताए । ओलीले एमालेलाई लतारेर २०४७ सालमा फर्काएको उनको टिप्पणी थियो । ‘कमरेड ओलीका कारण मुलुकले अवसर गुमायो । जसका कारणले राजनीतिमा खुट्टा तानातान हुँदैछ । यो रंग रमाइलोबाट मुलुक दुर्घटनामा जाँदैछ,’ उनले भने ।

उनले नेकपा एकीकृत समावादी पार्टी ‘असाधारण ठाउँ’ भएको भन्दै आफू कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको बताए । ‘नेकपा माओवादीको कार्यदिशा पनि समाजवादी हो । नेकपा एमालेले जबजको ब्याज लगाएर सुद खाने कुरा हो । कसैले त्यसका बारेमा एक लाइन लेखेको छैन । सौराह काण्डका नेताहरु भएपछि जबज भयो । संसद पायो भने हामीले संसद विघटन गर्छौ भनेको छ,’ उनले भने ।

उनले अब नेकपा एकीकृत समाजवादीलाई विशेषाधिकार नहुने पार्टी बनाउन लाग्ने पनि बताए । ‘हामी एउटा कार्यक्रम बनाउछौं । असाधारण क्षमताका केटाकेटी आए । ४०-४५ वर्षको अनुभव होइन । हामी कसैको विषेशाधिकार नहुने पार्टी बनाउँछौं । माथि गएर कसैले पनि गल्ति गरे रिकल गर्ने पार्टी बनाउँछौं,’ उनले भने ।

भुसालले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन चलाउन खोजेको बताएका छन् । उनले त्यसरी शासन चल्न छोडेका दिन ओलीले फेरि पनि संसद् विघटन गर्ने हुँकार गरिरहेको बताए ।

‘अहिले पनि ओलीले एकातिर हलो र अर्कोतिर घण्टी राखेर बालकोटबाट शासन चलाउने र पायो भने संसद् विघटन गर्छु भनेको हो,’ संसद्मा ओलीका अभिव्यक्तिप्रति लक्षित गर्दै भुसालले भने, ‘मैले एमालेमै बस्छु, पार्टी एकीकृत गर्छु र सुधार्छु भनेर गरेको प्रयास ओलीकै कारण सार्थक भएन ।’

उनले नेकपा (एकीकृत समाजवादी) खेदिएका बेला तीन लाख भोट ल्याउनु सामान्य कुरा नभएको भन्दै भोलिका दिनमा नेपालको कम्युनिष्ट आन्दोलनको नेता पार्टी नेकपा एस नै हुने दाबी गरे । ‘लखेटिएको पार्टीले तीन लाख भोट पाउनु चानचुने होइन,’ भुसालले भने, ‘राज्य र पार्टी कब्जा गरेर निजी अहम्को खेलौना बनाउन दिइँदैन ।’

उनले नेकपा एसको अभियानले तीव्रता पाउँदा अन्य पार्टीहरुमा क्षयीकरण सुरु हुने बताए । ‘एकीकृत समाजवादी राम्रो ठाउँमा छ । एकीकृत नेकपाको खास उत्तराधिकार आजको समयमा एकीकृत समाजवादीमा छ,’ भुसालले भने, ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै ठाउँमा फर्किसकेका छन् ।’

उनले एकीकृत समाजवादीले अब नीति र कार्यक्रम बनाउँदै आगामी १० र १५ वर्षपछिको नेपालको अवधारणा तयार पार्ने भन्दै त्यसले फेरि नेकपाको वैभव फर्काउने दाबी गरे । एमाले परित्याग गरी प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही-१ बाट पराजित भएका थिए । भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका हुन् ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १६:०७