सूचनाको शक्ति - The Power Of Information

        

आज धरौटीमा रिहा हुँदै सन्दीप लामिछाने

राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो ।

केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ०८:१०