नयाँ समीकरण गरेर सरकार गठन गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट तीव्र बनाएका छन् । मन्त्रिपरिषद् विस्तार र राज्यशक्तिको बाँडफाँटका विषयलाई लिएर गठबन्धनका सहयात्री दुई नेताहरुबीच दैनिक भेटघाट हुने गरेको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत लिनासाथ मन्त्री मण्डल विस्तार हुने जनाउनुभएका एमाले अध्यक्ष ओलीले पछिल्लो समयमा एकैछिन पनि प्रचण्डलाई छाड्न चाहनुभएको छैन ।
प्रधानमन्त्री दाहाललाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत विश्वासको मत दिएपछि गठबन्धनमा गडबड हुने हो कि भन्ने शंका ओलीमा जागेको नेताहरुले बताएका छन् ।
बुधबार मात्रै आफ्नै निवास बालकोटमा प्रचण्डलाई भेटेका ओली बिहीबार भेटका लागि बालुवाटार पुग्नुभएको थियो । बालुवाटार स्रोतका अनुसार भेटमा दुई नेताहरुबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको थियो ।
माघ ५ गते सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने भएकाले कतै माओवादी र कांग्रेसले पुरानै गठबन्धन ब्युँताउन सक्ने विषयमा एमाले गम्भीर भएको एमालेका एक नेताले बताए । उनले भने– ‘राजनीतिमा जे पनि हुन थालेको छ ।
हामी सबै विषयमा सतर्क भएर अघि बढ्नुपर्ने अवस्था छ । कांग्रेसले विश्वासको मत दिनुको पछाडि केही न केही हुन सक्ने कुरालाई ख्याल गरेर एमाले अघि बढेको छ ।’ सत्ता गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा अझै कुरा नमिल्दा पनि यो शंका रहेको ओली निकटका ती नेताले नेपाल समाचारपत्रलाई बताए ।
सत्यपाटी संवाददाता । काठमाडौँ