सूचनाको शक्ति - The Power Of Information

        

सातै प्रदेशमा नयाँ मुख्यमन्त्री

सातै प्रदेशमा मुख्यमन्त्री चयन, केन्द्रमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

सभामुख चयनको प्रक्रिया पनि सुरु

निर्वाचनपछि सात वटै प्रदेशमा नयाँ मुख्यमन्त्री चयन गरिएको छ ।

निर्वाचन पछि केन्द्रमा एकाएक बनेको नयाँ सत्ता समीकरणअनुसार प्रदेशमा पनि मुख्यमन्त्री चयन गरिएको हो ।

जसअनुसार प्रदेश नम्बर १ मा एमालेका हिक्मत कार्की, मधेश प्रदेशमा जसपाका सरोज कुमार यादव, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी, लुम्बिनी प्रदेशमा एमालेका लीला गिरि, कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका छन् ।

प्रदेश १, लुम्बिनी र बागमतीमा बाहेक अन्य प्रदेशमा बुधबारमात्रै मुख्यमन्त्री चयन गरिएको हो । ती प्रदेशमा सभामुख चयनको प्रक्रिया पनि सुरु भएको छ ।
यसैगरी संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन् । मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृह कार्य थालेका हुन् ।

सोहीअनुसार प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्ड पुस १० मा एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने त्यसको भोलिपल्ट शपथसहित सानो आकारमा मन्त्रिपरिषद् बनाएका थिए ।

मंगलबार भने संसदबाट १६८ सांसदको विश्वासको मत पाएसँगै प्रचण्ड मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

यसैबीच बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने भएको छ ।

 सो बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा थप छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनले प्रधानमन्त्री तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्ने पक्षमा रहेको पनि बताए ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ०८:४७