हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन् ।
नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन् ।
हरेक दिन जहाजले एउटा मात्रै उडान भएपनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरु बताउँछन् । जहाजको क्षमता १८ जनाको भए पनि जहाजमा समानहरु भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयहरुले बताए ।
नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ । विमानस्थालबाट काठमाडौं, पोखरा लगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ ।
अहिले जाडो सिजनमा हुस्सु र शितलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुँदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए ।
उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको बताए । चिसोका कारणले पहाडी भेगका मानिसहरु धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालले बताए ।
उनले जहाजमा मानिसहरु यात्रा कम गर्न थालेपछि एयारलइन्सहरुले कार्गो गरिरहेको बताए । यात्रुहरु अपुग भएपछि एरलइन्सहरु मिलेर सिमित उडान गरिरहेको प्रमुख खनालले बताए ।
सत्यपाटी संवाददाता । बाँके