सूचनाको शक्ति - The Power Of Information

        

कुसंस्कारले जेलिएको छाउपडी प्रथा

भत्काइए छाउगोठ, भत्किएन मनको डर

‘झुक्किएर पनि आकाशतिर सूर्यलाई हेर्न पनि नहुने रे । यी सब कुराले म महिनावारी भएको होइन, केही अपराध गरेर सजाय काटेको जस्तो अनुभव हुन्छ ।’

ठाटीकाँध गाउँपालिका–२ दैलेखकी सरुपा विक २१ वर्षकी भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बस्दै आएको छैटौँपटक हो । अहिले पनि उनी महिनावारी भएका बेला उही छाउगोठमै जान्छिन् । ‘तर अहिले पनि महिनावारीको समय नजिकिँदा शरीरमा काँडा उम्रेर आउँछ । छाउगोठमा बसौँ त सर्पको डर, घरमा बसौँ त देवताको डर केही गरे पनि सुख छैन,’ उनी भन्छिन् । बिहान ५ बजेकै हुँदैन कुर्मुरो उज्यालोमै घाँस काट्न हिँडिहाल्छिन् ।

घाँसको ठूलो डोको बोकेर घर फर्किन्छिन् । यसरी नै उनको दैनिकी बित्छ । अघिपछि भन्दा महिनावारी भएका बेला निकै पीडा हुने गरेको उनी सुनाउँछिन् । ‘अरुबेला हामी नारीलाई केही पीडा हुँदैन,’ उनले भनिन्, ‘महिनावारीका बेला गनिनसक्नु पीडा हुन्छन्, सुख्खा सेतो नुनसँग खाना खानुपर्छ, एक्सरो कपडा ओछ्याएर चिसो ठाउँमा सुत्नुपर्छ ।’ परम्परागत सोचमा परिवर्तन आउन नसक्दा अहिले पनि एकसरो लुगा ओछ्याएर सेतो नुनसँग खाना दिइने चलन कायमै छ ।

आठबीस नगरपालिका–५ कि नाम परिवर्तित अमला बडुवाल पहिलोपटक महिनावारी हुँदा लुक्न भनेर जंगल पसिन् । गाउँघरमा पहिलो पटक रजस्वला भए लुक्न जाने चलन अनुसार आफू लुक्न गएको अमला बताउँछिन् । ‘सरकारले छाउलाई बार्न हुन्न, छाउगोठमा बस्न हुन्न भनेर भत्कायो,’ उनले भनिन्, ‘गोठ भत्काएर मात्र के गर्नु मनको डर भत्काउन कसैले नसक्ने, त्यसैले पनि छाउगोठमै बस्नुपर्ने बाध्यता छ ।’ पहिलो पटक रजस्वला हुँदा नलुकेमा दाइभाइको नजर परे राम्रो हुँदैन भनेर पाँच दिनसम्म लुक्ने चलन रहेको ठाटीकाँधकी सरुपा बिक बताउँछिन् ।

‘पहिलोपटक महिनावारी हुँदा घरमा बस्नुहुँदैन, लुक्न जानुपर्छ जंगलतिर, कसैको पनि नजरमा पर्न हुँदैन, पाँच दिन भएपछि घरमा आउने र घरमा मिठोमसिनो बनाएर दिने चलन छ,’ उनले भनिन् । दैलेखको आठबीस नगरपालिका–२ की भावना उपाध्यायको पनि उस्तै अनुभव छ । उनले पनि घरमा भएका पुरुषलाई अनुहार देखाउन नहुने भन्दै सात दिनसम्म आफन्तको घरमा लुक्न जानुपर्यो । ‘झुक्किएर पनि आकाशतिर सूर्यलाई हेर्न पनि नहुने रे । यी सब कुराले म महिनावारी भएको होइन, केही अपराध गरेर सजाय काटेको जस्तो अनुभव हुन्छ,’ उनले भनिन् ।

सरुपा र भावना प्रतिनिधि पात्र मात्रै हुन् । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा अदृश्य रूपमा छाउ प्रथाले निरन्तरता पाइरहेको छ । गत वर्ष पुस महिनाबाट सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थाल्यो । उक्त अभियानबाट करिब नौ हजार २१० वटा छाउगोठ गृह मन्त्रालयको आदेशमा भत्काइयो । छाउगोठ भत्काइए पनि छाउ भएका पुनः छाउगोठमै बस्न थालेका छन् ।

रजस्वला हुँदा छाउगोठमा बस्नेलाई कारबाही गरिने भनेर कानुनमा प्रस्ट उल्लेख भए पनि कार्यान्वयन भने हुन सकेको छैन । पहिले भत्काइएका छाउगोठ अहिले धमाधम ठडिन थालेका छन् । महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो । स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिए पनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेका छन् ।

‘सरकारले छाउगोठ भत्काए पनि घरभित्र बस्न मनले मान्दैन, डर लाग्छ,’ दैलेख आठबीस नगरपालिकाकी एक महिलाले भनिन्, ‘घरभित्रै बस्ने मन भए पनि देउता रिसाउने भन्दै बूढाबूढी (सासूससुरा)ले बस्नै दिँदैनन्, त्यसैले महिनावारी हुँदा पाँच दिन बाध्य भएर छाउगोठमै नबसि नहुने ।’ पहिलेको भन्दा छाउपडी र छाउगोठमा बस्ने अहिले कम हुँदै गएको आठबीस नगरपालिका उपप्रमुख दीपा बोहोरा बताउँछिन् । ‘पहिले सरकारले छाउगोठ भत्काउँदा विनापूर्वाधार मानसिकरुपमा तनाब दिएर भत्काउने भयो त्यस्ले गर्दा उल्टो प्रभाव पर्यो,’ उनले भनिन्, ‘जसले गर्दा झाडी र खुल्ला ठाउँमै बस्ने भयो ।’

स्रोत : न्युज कारखाना
प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १४:११