सूचनाको शक्ति - The Power Of Information

        

महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

जुम्ला जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ । गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाईकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

गत मंसिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । ‘आत्मनिर्भरका तालिमलाई महिला केन्द्रित गरेर सञ्चालन गरेका छौं,’ उपाध्यक्ष बुढाले भने, ‘पालिकाका नौवटै वडाका १६ महिलालाई ढाका बुनाइ तालिम दिएर पठाएका छौं । उनीहरुले राम्रोसँग सीप सिकेर गएका छन् ।’

उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्ला र तिला गाउँपालिकाको साझेदारीमा तालिम दिएको उपाध्यक्ष बुढाको भनाइ छ । तिलाका महिलालाई आत्मनिर्भर गर्नका लागि सो तालिम दिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए । तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न अतिआवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए ।

तालिमका सहभागी शान्ति बुढाले पालिकाले दिएको सीपमूलक तालिमलाई कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी भएकाले अझै यहाँका महिलालाई विभिन्न प्रकारका आत्मनिर्भरका सीपमूलक तालिम दिन पालिकालाई आग्रह गरे । तिलावासीका नागरिकसँग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्नका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकाले यहाँँका नागरिकको अपेक्षाअनुसार काम गरिने तिला गाउँपालिकाले जनाएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २७ पुष २०७९, बुधबार ०८:५७