सूचनाको शक्ति - The Power Of Information

        

पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप

अकुत सम्पत्ति कमाएको भन्दै पाँच डीएसपी र चार इन्स्पेक्टरविरुद्ध अख्तियारमा उजुरी

नौं जनालाई एकमुष्ट दिइएको उजुरीको दर्ता नम्बर सी–०३३०१६ छ । उक्त उजुरी गत १७ गते दर्ता भएको पाइएको छ ।

अकुत सम्पत्ति कमाएको भन्दै नौं जना प्रहरी अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएकोले छानबिन गरी पाउँ भन्दै उजुरी परेको हो ।

विभिन्न ठाउँमा पोस्टिङ हुँदा प्रहरी आचरणविपरित काम गरेको, अधिकारको दुरुपयोग गरी लाभ लिएको, भ्रष्टाचार गरेको लगायत दाबी गर्दै उजुरी गरिएको छ । डीएसपीहरू ऐन मल्ल, राकेश पोद्दार, मदन कुँवर, टीका कार्की, विजय कुँवर र चारजना इन्स्पेक्टरविरुद्ध उजुरी परेको हो ।

नौं जनालाई एकमुष्ट दिइएको उजुरीको दर्ता नम्बर सी–०३३०१६ छ । उक्त उजुरी गत १७ गते दर्ता भएको पाइएको छ । उजुरीमा २०५२ सालमा असईमा भर्ना भएका ऐन मल्लले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबी गरिएको छ ।

हाल इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत रहेका मल्लले अकुत सम्पत्तिकै कारण काठमाडौंको टोखामा घर ठड्याएको, सेयरमा ५ करोड रुपैयाँ बराबर लगानी गरेको आरोप लगाइएको छ । बाँकेमा ट्राफिक भएर बस्दा, महाराजगञ्जमा पुलिस रिपोर्ट दिने ठाउँमा बस्दा अकुत सम्पत्ति कमाएको आरोप लगाइएको छ ।

२०५२ सालमै असईमा भर्ना भएका डीएसपी राकेश पोद्दारले पनि वीरगञ्ज, झापा, विराटनगर ट्राफिकमा बस्दा अकुत सम्पत्ति कमाएको आरोप उजुरीमा लगाइएको छ । ट्राफिकमा बस्दा अकुत सम्पत्ति कमाएको आरोप उजुरीमा लगाइएको छ । प्रहरी प्रधान कार्यालयको बजेट शाखामा रहेका डीएसपी विजय कुवँरले पनि अकुत सम्पत्ति कमाएर घरजग्गामा लगानी गरेको दाबी गरिएको छ ।

उनी पनि २०५२ मा असईमा भर्ना भएका थिए । प्रहरी प्रधान कार्यालयको कल्याण्ड लेखा शाखामा रहेका डीएसपी मदन कुँवरले पनि अुकत सम्पत्ति कमाएको दाबी गरिएको छ । लेखापालमा रहँदा उनले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएकाले छानबिन हुनुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।

उनी पनि २०५२ सालमा असईमै भर्ना भएर प्रहरी सेवा प्रवेश गरेका अधिकृत हुन् । अर्का डीएसपी टिका कार्की कोटेश्वर प्रभाग, इलाका प्रहरी कार्यालय पकली, इलाका प्रहरी कार्यालय धुलाबारीको इन्चार्ज रहेका बेला अकुत सम्पत्ति कमाएको आरोप लगाउँदै उजुरी दिइएको छ । त्यसैगरी, चारजना इन्स्पेक्टरहरूले पनि अकुत सम्पत्ति कमाएकाले छानबिन गरी कारबाही गर्नुपर्ने भन्दै उजुरी हालिएको छ ।

स्रोत : नेपाल लाइभ
प्रकाशित मिति : २७ पुष २०७९, बुधबार ०८:३८