स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।
खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।
दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाई छ । मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ ।
नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ ।
खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ । बाँकेलाई दुई वर्ष अघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । तर, गएको १३ गतेदेखि दादुराका बिरामी भेटिएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौँ