सूचनाको शक्ति - The Power Of Information

        

आज पाउनेछ नयाँ सरकार

लुम्बिनी प्रदेशः मुख्यमन्त्री नियुक्तिको लागि आज दावी पेश गरिँदै

प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व

लुम्बिनी प्रदेशले आम निर्वाचन सकिएको ५१ औं दिनमा आज नयाँ सरकार पाउने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले मंगलबार नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको लागि दावी पेश गर्दैछ ।

एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अपरान्ह ४ बजे मुख्यमन्त्रीको लागि दावी पेश गरिने  जानकारी दिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ ।

शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाउने सहमति छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार गत बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय सीमा उपलब्ध गराएका थिए ।

समय २७ गते बुधबार ४ बजेसम्मको समयसीमा शेरचनले दिएका छन् । प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ ।

केन्द्रको समीकरण अनुसार लुम्बिनीमा एमाले २९, माओवादी १० र राप्रपा ४, जनमत पार्टी ३, जसपा ३ नागरिक उन्मुक्ति ४ सांसद छन् । कांग्रेसका २७, लोसपा ३, नेकपा एकीकृत समाजवादी १, राष्ट्रिय जनमोर्चा १ स्वतन्त्र २ सांसद रहेका छन् ।

प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०८:१०