सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा बैठक बस्दै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै : कांग्रेसले के गर्ला ?

सत्तारूढ दलबाट १ सय ६९ सांसदको समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् । प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । संसद् बैठक बिहान ११ बजे बस्दै छ ।

माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थनमा उहाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । हिजो बेलुका भएको भेटमा कांग्रेस सभापति देउवाले पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सभापति देउवाले विश्वासको मत दिने तयारी गरेपछि कांग्रेसभित्र विवाद देखिएको छ । विश्वासको मत दिने कि नदिने भन्नेमा छलफल गर्न देउवाले संसदीय दलको बैठक बाेलाएका छन् ।

बिहान ९ बजे बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन् । देउवाले प्रधानमन्त्री दिन नमान्दा कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रचण्डले एमालेसँग सहकार्य गरेका थिए ।

सत्ता गठबन्धन दलले प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णय गरेअनुसार प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही गएका थिए । अहिलेसम्म सत्तारूढ दलबाट १ सय ६९ सांसदको समर्थन छ ।

गएको १० गते तत्कालीन पाँच दलीय सत्ता गठबन्धन त्यागेर एमालेसँग मिलेपछि पहिलो पटक प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०७:४६