सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सरकार गठन

वाग्मतीको मुख्यमन्त्रीमा नियुक्त शालिकरामको राजनीतिक इतिहास ?

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शालिकराम जम्कट्टेललाई नियुक्त गरिएको हो ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शालिकराम जम्कट्टेललाई नियुक्त गरिएको शर्माले बताए ।

यस्तो छ राजनीतिक इतिहास ?

२०३० साल भदौमा धादिङको साविक किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मेका शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । उनी यसअघि डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

२०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका जम्कट्टेल २०५२ सालमा ललितपुरको आइरन उद्योगमा काम गर्दै गर्दा मजदुर आन्दोलनमा सहभागी भए । सोही बखत उनी माओवादी केन्द्रमा जोडिन पुगे । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै उनी केन्द्रीय कोषाध्यक्षसमेत भए ।

गजुरीको आदर्श माध्यमिक विद्यालयबाट एसएलसी अध्ययन गरेका उनले बीए, बीएलसम्मको अध्ययन गरेका छन् । उनी २०५२ सालमा माओवादी जनयुद्धमा होमिएका थिए । त्यस यता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए ।

मजदुर संगठनको नेतृत्वमा आएपछि उनी राजनीतिक उचाइमा पुगेका थिए । उनी २०६३ मा पुनःस्थापित संसद्को अन्तरिम विधायक भएका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका उनी २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने पराजित हुन पुगे ।

उनी २०७३ मा माओवादी केन्द्रको धादिङ जिल्ला अध्यक्ष भए । देश संघीयतामा गएपछि पहिलो पटक २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ–१ (२) बाट उनी प्रदेश सांसद बनेका थिए । उनी २०७४ सालमा पहिलो पटक प्रदेशको मन्त्री बने । तीन वर्ष मन्त्री बनेका जम्कट्टेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि २०७७ पुस १० गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काउने फैसला गरेपछि उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेतामा चयन भए । एमाले विभाजनपछि बनेको राजनीतिक समीकरणमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा प्रदेशको मुख्यमन्त्रीका दाबेदारको रुपमा उनी प्रस्तुत भए पनि गठबन्धनमा भागबण्डा हुँदा मुख्यमन्त्री पद एकीकृत समाजवादीले लियो ।

एकीकृत समाजवादीबाट राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बन्दा जम्कट्टेलले १४ महिना प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाए । उनले एक वर्ष २ महिनादेखि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हाले । उनी २०७९ मंसिर ४ मा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भएका थिए । जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं धादिङ जिल्ला इन्चार्ज हुन् ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १५:०३