बागमती प्रदेश सरकारको नेतृत्वका लागि आज दाबी पेस हुँदैछ । बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने भएको हो । माओवादी केन्द्रले शालिकराम जमकट्टेललाई मुख्यमन्त्रीका अगाडि सारेको छ ।
मुख्यमन्त्रीका लागि उनलाई एमाले र राप्रपाको समर्थन रहेको छ । माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहेकी सांसद कुमारी मोक्तानका अनुसार आज दिउँसो २ बजेसम्ममा मुख्यमन्त्रीका लागि दाबी पेश हुने भएको छ ।
११० सदस्यीय रहेको बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद छन् । सरकार गठनका लागि यो संख्या बहुमत हो ।
सत्ता साझेदार दलबीच आइतबार भएको सहमति अनुसार ७ प्रदेशमध्ये एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी पुरै कार्यकाल र माओवादीले कर्णाली, आलोपालो अन्तर्गत बागमतीमा (पहिला माओवादी) सुदूरपश्चिममा (दोस्रो कार्यकाल) सरकारको नेतृत्व गर्ने भएका छन् ।
यद्यपी सत्तारुढ दलबीच केन्द्रमा सहमति हुँदा प्रदेश १ मा आलोपालो नहुने भएपछि नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ । केन्द्रको निर्णयमा असन्तुष्टि जनाउँदै माओवादी प्रदेश १ सरकारमा सहभागी नहुने बताइरहेको छ ।
आइतबार सत्तारुढ दलबीच प्रदेश १ मा एमालेले पूर्ण कार्यकाल सरकार सञ्चालन गर्ने निर्णय भएको थियो । माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएको बताएका छन् ।
‘केन्द्रको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ । आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ,’ उनले भने । यसअघि एमाले र माओवादीका प्रदेशस्तरीय नेताहरुले प्रदेश १ मा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए ।
प्रदेश १ मा पहिलो कार्यकाल एमाले र दोस्रो कार्यकाल माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । दुई दलबीच सात प्रदेशमा भएको सहमति अनुसार एमालेले नेतृत्व गरेका प्रदेशमा माओवादीबाट सभामुख र माओवादीले सरकारको नेतृत्व गरेका प्रदेशमा एमालेका सभामुख हुने भएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं