सूचनाको शक्ति - The Power Of Information

        

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा

सरकारले इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालन संघले आन्तरिक हवाई भाडादर पनि घटाएको छ । सरकारले आइतबारदेखी लागु हुने गरी हवाई इन्धनको मुल्य प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको हो ।

वायुसेवा सञ्चालक संघले २७ पुस गतेदेखी लागु हुनेगरी उडान अनुसार नयाँ भाडादर कायम गरेको छ । संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।

यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ ।

विराटनगरलाई ४८५, जनकपुर २६०, भरतपुर २१५ र पोखराका लागि ३२० कम तिरे पुग्नेछ । काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्ज ६५५, तुम्लिङटार ३७०, सिमरा १८०, सुर्खेत ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १२:४१