सत्तारुढ दलबीच केन्द्रमा सहमति हुँदा प्रदेश १ मा आलोपालो नहुने भएपछि नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ ।
आइतबार सत्तारुढ दलबीच प्याकेजमा सहमति हुँदा प्रदेश १ मा एमालेले पूर्ण कार्यकाल सरकार सञ्चालन गर्ने निर्णय भएपछि केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी प्रदेश १ सरकारमा सहभागी नहुने भएको हो ।
माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएको बताए । ‘केन्द्रको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ । आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’
यसअघि एमाले र माओवादीका प्रदेशस्तरीय नेताहरुले प्रदेश १ सरकार आलोपालोका आधारमा नेतृत्व गर्ने सहमति भएको थियो । प्रदेशमा पहिलो कार्यकाल एमाले र दोस्रो कार्यकाल माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखकोमा जानु अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि गठबन्धन ५ वर्ष कायम हुने बताउँदै आधा समयपछि मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन हुने बताएका थिए ।
तर, आइतबार साझ केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमतिमा प्रदेश १ मा पाँच वर्ष नै एमाले नेतृत्वको सरकार रहने सहमति भएको छ । केन्द्रमा भएको उक्त निर्णयपछि माओवादी प्रदेश १ सरकारमा सहभागी नहुने भएको हो ।
एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । कार्कीको शपथ लगत्तै सानो आकारको मन्त्रिपरिषद् आजै विस्तार गर्दैछन् ।
सत्यपाटी संवाददाता । विराटनगर