सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सरकार गठन

गण्डकीमा आजै नयाँ सरकार, एमालेका खगराज मुख्यमन्त्री

गण्डकीमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन ३२ जना सांसदको हस्ताक्षर भैसकेको छ ।

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मंसिर ४ को आम निर्वाचनपछि आज (सोमबार) नयाँ सरकार गठन हुन लागेको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई दिएको समय आज अपरान्ह ४ बजे सकिँदैछ ।

त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमतको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका गर्ने तयारी गरेको हो । प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनभित्र मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा मुख्यमन्त्री नियुक्तीका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्ने तयारी दलहरुले गरेको छ ।

नेकपा एमाले सांसद रोशन गाहाका अनुसार गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो ।

प्रदेशसभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा (एकीकृत समाजवादी)सँग एक सिट छ । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुङ्गो लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो । नेता अधिकारी कास्की १ (१)बाट निर्वाचित भएका थिए ।

विसं २०७४ मा कास्की १ बट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गरेका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ ।

अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको थियो ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १२:१४