सूचनाको शक्ति - The Power Of Information

        

फुटबलको जर्सी लगाएर राष्ट्रपति भवनमा घुसे प्रदर्शनकारी

 ब्राजिलमा पूर्व राष्ट्रपति जायर बोलसोनारोका समर्थकले हिंस्रक प्रदर्शन गरेका छन्।

राष्ट्रिय फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले संसद भवन, सर्वोच्च अदालत तथा राष्ट्रपति भवनभित्रै घुसेर प्रदर्शन गरेका हुन्। भीषण प्रदर्शनपछि राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरुमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

बोलसोनारो समर्थकहरुका अराजकपूर्ण प्रदर्शनपछि राष्ट्रपति लूला डि भिसल्भाले फासीवादी आक्रमणको संज्ञा दिएका छन्।  प्रहरीले हिंस्रक प्रदर्शनमा सहभागी झण्डै २ सय जनालाई गिरफ्तार गरिएको बताएको छ।

यो घटना ठिक दुई वर्षअघि अमेरिकी संसद क्यापिटल हिलमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकको गरेको हिंसाको झल्को दिने खालको रहेको जनाइएको छ।

ब्राजिलमा भएको हिंसाको अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायतले निन्दा गरेका छन्।

यसैबीच ब्राजिल सरकारका एक मन्त्रीले प्रदर्शनकारीले राष्ट्रपति आवासबाट हतियार लुटेको आरोप लगाएका छन्।  सञ्चारमन्त्री पालो पिमेन्टाले ट्विटरमा एक भिडियो राख्दै घातक हतियार चोरेको आरोप लगाएका हुन्।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ०९:०६