सूचनाको शक्ति - The Power Of Information

        

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सञ्चालनमा

फाइल तस्वीर

भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ । मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए ।

सो समस्या समाधान भएपछि आजबाट डोल्पा सिधा यातायात सेवा सञ्चालन भएको हो । सडक डिभिजन चौरजहारीसँग समन्वय गरेर नेपालगन्जबाट सिधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडी लगायतका सवारीसाधन रोक लगाएका थिए ।

आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौँ–नेपालगन्ज लगायतका अन्य जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।

‘रुकुम पश्चिम र जाजरकोटले पुलका दुवैतिर प्रहरी गस्ती खटाएको छ, अब यायायात तथा ढुवानी व्यवसायीले ढुक्कसँग गाडी लैजाँदा हुन्छ । यदि त्यहाँ प्रहरीले पनि सहजीकरण गरेन भने सिधा मलाई फोन गर्नु,’ प्रजिअ न्यौपानेले भने । दुवै जिल्लाका प्रहरीको टोलीले पुलको दुवैतिर लगाएको तारजाली र ताला हिजो नै हटाएको नलगाड नगरपालिका–१२ का वडा सचिव रामप्रसाद शर्माले जानकारी दिए ।

दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै आवत जावत भइरहेको उनले जानकारी दिए । अब नेपालगन्जबाट सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादर समेत घट्ने भएको छ । यही ठाउँमा नयाँ पुल निर्माणको कामसमेत चलिरहेको छ । अघिल्लो वर्ष निर्माण भइसक्नुपर्ने पुल यस वर्ष मात्र निर्माण सुरु गरिएको छ । अबको दुई महिनाभित्र पुल निर्माण सम्पन्न हुने निर्माण व्यवसायी बुद्धीबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार ०८:४७