नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ ।
प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् । शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो ।
त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरू सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।
यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ ।
पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ