सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पहाडी भेगमा आंशिक बदली, तराईमा रोकिएन शीतलहर

पश्चिम र मध्य तराईका केहि भू–भागहरूमा शीतलहर चलिरहेको छ ।

फाइल तस्वीर

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहे पनि तराईमा अझै शीतलहर रोकिएको छैन । पश्चिम र मध्य तराईका केहि भू–भागहरूमा शीतलहर चलिरहेको छ ।

महाशाखाका अनुसार तराई क्षेत्रमा अझै केही दिन शीतलहर कायमै रहनेछ । आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

सोमबार भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ पुष २०७९, आइतवार ०६:३३