सूचनाको शक्ति - The Power Of Information

        

काँचुली फेर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

क्यान्सर अस्पतालमा आइपुग्यो लिन्याक मेसिन, बिरामीका लागि बरदान

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अब केही समयमै हस्पिटल तथा प्यालिएटिभ केयरको सुविधा पनि सुरु हुनेछ ।

बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आइपुगेको छ । अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा.निरज भट्टराईका अनुसार यो मेसिन शीघ्र सञ्चालनमा आउनेछ ।

कार्यकारी निर्देशक डा.भट्टराईका अनुसार लिन्याक मेसिन क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने मेसिन हो । क्यान्सरको उपचारको लागि यो अत्यावश्यक मेसिन हो । उनका अनुसार नेपालको चितवनबाट पश्चिम क्षेत्रमा यो पहिलो लिन्याक मेसिन हो । यो मेसिन सञ्चालनमा आएपछि पश्चिम नेपालका क्यान्सरका बिरामीले सेकाईको लागि चितवन, काठमाडौं या भारत पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।

‘यो मेसिन अस्पतालमा सञ्चालनमा आएपछि क्यान्सरका बिरामीहरूलाई अप्रेसन पछि गरिने सेकाई, अप्रेसन नगर्दै गरिने सेकाईहरूलाई सहज हुने भएको छ । अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाई यहीँबाट हुने भएको छ,’ उनले भने । नेपाल सरकारको अनुदान प्राप्त भएको र खरिद प्रकृया सुरू भएको लामो समयपछि धेरै प्राविधिक जटिलताका बीच स्वास्थ मन्त्रालयको सहयोगमा मेसिन अस्पतालमा आइपुग्दा निकै खुसी लागेको बताए ।

कार्यकारी निर्देशक डा.भट्टराईले भने, ‘मन्त्रालयले गरेको सहयोगले बिरामीसम्म सहज उपचार पुग्ने विश्वास छ, हामी कर्मचारीहरू यसको माध्यम हौं ।’ करिब दुई महिना अघि कार्यकारी निर्देशक भएर डा.भट्टराई आएपछि अस्पतालले गति लिन थालेको स्थानीयहरू बताउँछन् । अस्पतालमा जटिल प्रवृत्तिका शल्यक्रिया गर्न अन्यत्र जानु नपर्ने भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् । क्यान्सर अस्पतालमा अत्यावस्यक आइसीयु बनिसकेको छ ।

जसका कारण अब आउने दिनहरूमा क्यान्सरका जटिल शल्यक्रियाहरू गर्न र गम्भीर अवस्थाका क्यान्सर बिरामीहरूलाई उपचार गर्न सहज हुने भएको छ । अब क्यान्सर केन्द्रित सेवा मात्र प्रदान गर्ने गरि अगाडि बढ्ने योजना रहेको डा.भट्टराई बताए । अस्पतालमा अब केही समयमै हस्पिटल तथा प्यालिएटिभ केयरको सुविधा पनि अस्पतालको अलग भवनबाट सुरु हुनेछ ।

नेपालगन्ज धम्बोजी चोकबाट करिब १० किलोमिटरभित्र खजुरा गाउँपालिकामा अवस्थित अस्पताल मध्य तथा सुदूरपश्चिमको एकमात्र क्यान्सर अस्पताल हो । संघीय अस्पताल भए तापनि स्थायी दरबन्दी स्वीकृत नभएकोले उक्त अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन चूनौतिपूर्ण रहेको र हाल ‘ओ एण्ड एम’ गरी स्थाई दरबन्दी सिर्जना गर्न अध्ययन तथा पहल प्राथमिकताका साथ भइरहेको छ ।

साथै क्यान्सरका बिरामीलाई अस्पतालसम्म आइपुग्न सहज वातावरण बनाउन खजुरा गाउँपालिका, नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकासँग समन्वय गरी क्यान्सर अस्पतालको गेटसम्म सार्वजनिक यातायातको व्यवस्था गर्न, थप एम्बुलेन्स र शव वाहनको व्यवस्था गर्न, क्यान्सरका बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था गर्न र खजुरा गाउँपालिकाको सहयोगमा अस्पताल प्राङ्गणमा हाइमास्ट लाइटको व्यवस्था तथा विद्युत प्राधिकरणसँग डेडिकेटेड लाइनको व्यवस्था गर्ने पहल भइसकेको छ ।

पश्चिम नेपालमा क्यान्सरसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, साईन्टिफिक कन्फरेन्स तथा क्यान्सर स्कृनिंग शिविरहरू अहिले पनि अस्पतालले निरन्तर सन्चालन गरिरहेको छ । साथै मनोविद्सँगको सहकार्यमा अब क्यान्सरसँग लडिरहेकालाई उपचारसँगै ‘मनोवैज्ञानिक परामर्शको’ व्यवस्था गर्ने र ‘क्यान्सर सर्भाइभर सोसाइटी’सँगको सहकार्यमा क्यान्सर सम्बन्धी विभिन्न हौसला युक्त, जनचेतना कार्यक्रम गर्ने तयारी पनि रहेको डा. भट्टराईले बताए ।

यस्तै, खजुरा गाउँपालिका अध्यक्ष डम्मर विकले क्यान्सर अस्पताल आफ्नो गाउँको गौरव भएकाले आवश्यक समन्वय गर्न आफू सदैव तयार रहेको बताए । अध्यक्ष बिकले भने, ’बिरामीहरूलाई काठमाडौं चितवन पुर्याउनु अवस्था निकारण गर्न अस्पताललाई जुनसुकै सहकार्य गर्न हामी तत्पर छौं ।’

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १३:१२