विश्वको जनसंख्या आठ अर्ब नाघेको छ । पछिल्लो समय बच्चा जन्माउने दम्पत्तीको संख्या पनि घटिरहेको छ । यसले विश्वकै जनसंख्या वृद्धिमा असर गरिरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन् । बढ्दो जनसङ्ख्यालाई लिएर धेरै देश चिन्तित छन् भने कतिपय देशले जनसङ्ख्या बढाउने अभियान चलाइरहेका छन् ।
जापान – प्रति बच्चा १० लाख येन
त्यस्ता देशमध्ये जापान पनि एक हो । जापान सरकारले यस वर्ष परिवारलाई सन्तान जन्माउन प्रोत्साहन गर्ने नयाँ योजनाको घोषणा गरेको छ । यस अनुसार टोकियोको बाहिरी इलाकामा बसाइँ सर्नेहरूलाई जन्म दिने प्रत्येक बच्चालाई करिब १० लाख येन पुरस्कार दिइनेछ । सरकारले बच्चा जन्माउँदा पुरस्कृत गर्ने जापान मात्रै देश होइन ।
संसारमा धेरै देश छन्, जहाँ यस प्रकारको पुरस्कार योजना चलिरहेको छ । विवाह भएको धेरै वर्ष बितिसक्दा पनि यहाँ अधिकांशले सन्तान जन्माउँदैनन् । जसका कारण जापानमा युवाको संख्या निरन्तर घट्दै गएको छ भने वृद्धवृद्धा बढ्दै गएको छ । अहिले जापानमा काम गर्नेको संख्या घटेको छ । घट्दो जनसङ्ख्याका कारण यो देश समस्यामा छ ।
जापानीहरूमाथि गरिएको एउटा नयाँ सर्वेक्षणले ७० प्रतिशत अविवाहित पुरुष र १८ देखि ३४ वर्षका ६० प्रतिशत अविवाहित महिलाले सम्बन्धमा चासो नदेखाएको देखाएको छ, जापान टाइम्सले उल्लेख गरेको छ । विवाह गरेको धेरै वर्ष बितिसक्दा पनि सन्तान नहुने ३० प्रतिशत दम्पती छन् । त्यसैले यहाँको सरकारले सन्तान जन्माउनेलाई नगद पुरस्कार दिने गरेको छ । अब प्रत्येक बच्चालाई १० लाख येन पुरस्कार दिइनेछ । जापानको जन्मदर १.४६ मात्रै छ, जुन देशका लागि चिन्ताको विषय बनेको छ ।
रूस – दोस्रो र तेस्रो बच्चालाई ९ हजार डलर
दोस्रो विश्वयुद्धपछि रूसमा जनसंख्या दरमा लगातार गिरावट आएको छ। अहिले प्रत्येक १००० महिलामा ८०० पुरुष छन् । यहाँका अधिकांश युवा स्नातक छन् । विवाहपछि पनि धेरै दम्पतीको सन्तान हुँदैन । त्यसैले सरकारले १२ सेप्टेम्बर २००७ लाई ‘संधारण दिवस’ घोषणा गरेको थियो ।
यो दिन छुट्टी हो, ताकि मानिसहरू बच्चा जन्माउनमा ध्यान केन्द्रित गर्न सकून् । यसका साथै यो दिनको ठीक नौ महिनापछि बच्चा जन्माउने महिलालाई कार र इलेक्ट्रोनिक सामान उपहार दिइन्छ । रुसी सरकारले अर्को योजना सुरु गरेको छ । यस अनुसार दोस्रो वा तेस्रो सन्तान जन्माउने महिलालाई नौ हजार डलर दिइन्छ ।
इटाली – बालबालिकाको सम्पूर्ण खर्च सरकारले बेहोर्ने
इटालीमा पनि युवा जनसंख्या तीव्र गतिमा घट्दै गएको छ । यही कारण यहाँको सरकारले घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गरेको छ । यहाँ प्रति महिला प्रजनन दर १.४३ मात्र छ, जुन युरोपेली औसत १.५८ भन्दा कम छ । सरकारले धेरै योजना बनाएको छ, जसका माध्यमबाट बढीभन्दा बढी सन्तान जन्माउन जनतालाई सचेत गराइएको छ । सन्तान जन्माउनेलाई आर्थिक सहयोग चाहियो भने बच्चाको सम्पूर्ण खर्च सरकारले बेहोर्ने गर्छ ।
रोमानिया – बच्चा नजन्माउनेलाई बढी कर
सन् १९९० को दशकदेखि रोमानियामा जन्मदर लगातार घट्दै गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१८ मा यहाँको जनसंख्या वृद्धिदर –०.५० प्रतिशत रहेको छ । यहाँको अवस्था यति नाजुक बन्दै गएको छ कि सरकारले सन्तान नजन्माउने दम्पतीलाई थप कर लगाउन थालेको छ । एक रिपोर्ट अनुसार सन्तान नजन्माउने दम्पतीले २० प्रतिशत बढी कर तिर्नुपर्छ ।
टर्की – बच्चा जन्माउँदा इनाम
टर्कीमा पनि जन्मदर लगातार घटिरहेको छ । यही कारण यहाँको सरकारले बढीभन्दा बढी सन्तान जन्माउनेलाई पुरस्कार दिने घोषणा पनि गरेको छ । यहाँ पहिलो सन्तान जन्माउनेलाई २३० डलर, दोस्रो सन्तानलाई २७० डलर र तेस्रो सन्तानलाई ३६० डलर पुरस्कार दिइन्छ । यहाँ आमा बन्ने महिलालाई फुल टाइम तलबमा पार्टटाइम काम दिइन्छ ।
हङकङ – धेरै बच्चा जन्माउनेलाई पुरस्कार
हङकङमा प्रति महिला १.२३ बालबालिका छन् । सरकारको प्रयासपछि यो दर सुधार आएको आँकडा हो । सन् २००५ मा प्रजनन दर ०.९५ मा झरेको थियो । सन् २०१३ देखि यहाँ विवाहित जोडीलाई सन्तान जन्माएकोमा पुरस्कृत गरिन्छ । सरकारले मानिसहरूलाई धेरै तरिकामा बच्चा जन्माउन प्रोत्साहन दिइरहेको छ ।
माथि उल्लेखित देशहरुका साथै यी देशहरूमा पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहन दिइन्छ । डेनमार्क, स्पेन, दक्षिण कोरिया, सिंगापुर जस्ता देशहरूमा पनि मानिसहरूलाई धेरै भन्दा धेरै बच्चा जन्माउन प्रोत्साहन दिइन्छ । यी देशका सरकारहरूले पनि विभिन्न तरिकाले प्रोत्साहन योजनाहरू सुरु गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं