सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि चरा गणना सुरु, गणनामा खटिए ३५० विज्ञ

नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए ।

उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय बनेको छ । चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उनको भनाइ छ ।

हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तनको प्रभाव पनि चराको बासस्थानमा परेको डा बरालले बताए । चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ । पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चरा गणना हुनेछ ।

जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ । यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ८९२ प्रजातिका चरा छन् । जसमा २०० चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै ६५२ प्रजातिका चरा छन् ।

प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १०:२३