सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पूर्वमा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम पूर्वमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ९७५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनममा असर परेपनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए ।

उनका अनुसार विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असरलगायतका कारण जिल्लामा सुन्तलाको उत्पादनमा कमी आइरहेको थियो । यस वर्ष गत वर्षको भन्दा करिब तीन सय मेट्रिक टनले बढी उत्पादन भएको छ ।

जिल्लाभर किसानले १०५ हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् तर यस वर्ष ८२ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले फल दिएका छन् । त्यस्तै गत वर्ष ८५ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनको क्षेत्र रहे तापनि ७८ हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको थियो ।

उत्पादन वृद्धि भएपछि गत वर्ष प्रतिकेजी रु ६०–६५ मा बिक्री गरेका किसानले यो वर्ष रु ४० देखि ५०–५५ मा बिक्री गरिरहेका छन् । सुन्तला उत्पादन धेरै भए पनि बजार नहुँदा भने किसान समस्यामा पर्ने गर्छन् ।

उत्पादनलाई जोड दिँदै जाने तर त्यसको व्यवस्थापन र बजारीकरणको योजना नहुँदा बर्सेनि यहाँको उत्पादनलाई लिएर किसान मर्कामा पर्ने गरेका छन् । यस वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको र बजारमा खपत हुने अवस्था नभएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सुन्तलाको जुस बनाउने तालिम सञ्चालन गरेको थियो ।

अहिले सिस्ने ७ र ८ का किसानले बजारमा बिक्री नभएको सुन्तलाबाट स्थानीयस्तरमै जुस बनाएर बिक्री गरिरहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बस्नेतले बताए । जिल्लाको सबै पालिकामा सुन्तला उत्पादन हुने गरे पनि विशेषगरी सिस्ने गाउँपालिकाको वडा नम्बर ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको ८ नम्बर वडामा व्यावसायिकरुपमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : २३ पुष २०७९, शनिबार १०:१४