सूचनाको शक्ति - The Power Of Information

        

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ ।

आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले प्रतिवेदनलाई पूर्णता दिएको बताए ।

उनले शनिवार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्युनतम साझा कार्यक्रमहरु प्रश्तुत गर्ने बताए। उनले न्युनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुनेगरी न्युनतम साझा कार्यक्रम आएको दाबी गरे ।

उनले न्युनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महशुस गराउने गरी तयार पारेको बताए ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सदस्य छन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १७:३४