सूचनाको शक्ति - The Power Of Information

        

करोडौँ अमेरिकी डलर भित्र्याउन खोज्ने पृथ्वीबहादुर पक्राउ

अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएपछि चर्चामा आएका शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो ।

सीआइबीका प्रवक्ता कमल थापाले शाह लगायत ६ जनालाई पक्राउ गरी हिरासतमा लिएको पुष्टि गरेका छन् । ‘ठगी सम्बन्धी कसुर मुद्दामा उनीहरुलई पक्राउ गरिएको हो,’ थापाले भने, ‘शाहसहितले विदेशी नागरिकहरुलाई विश्वासमा पारेर स्विफ्टमार्फत करोडौँ रुपैयाँ ठगी गरी नेपाल भित्र्याएको खुलेको छ ।’

उनका अनुसार शाहले स्विफ्टमार्फत ४६ लाख ४६ लाख ७३७ अमेरिकी डलर, १२ हजार ८२५ पाउन्ड, नेपाली रुपैयाँ ३ करोड २२ लाख २८ हजार ६८० गैरकानुनी रुपमा ठगी गरि ल्याएको अनुसन्धानबाट खुलेको जानकारी दिए । ‘विभिन्न दर्जनौँ कम्पनी खडा गरेर नियामक निकायसँग अनुमति नलिइ ठगी गरेको भेटिएको छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंक र वैदेशिक रोजगार विभागबाट पनि अनुमति नलिइ ठगी गर्ने उद्धेश्यले गैरकानुनी काम गरेको पाइएको सीआइबीका प्रवक्ता थापाले बताए । उनका अनुसार शाहसँगै उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गत काफ्ले र रंगबहादुर साउद पक्राउ परेका छन् ।

शाह अमेरिकाबाट अवैध च्यानल हुँदै आएको करोडौं रकम फुक्का गरिदिने केसमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा पनि विवादमा जोडिएका थिए । त्यसबेला मन्त्री शर्माले अछामका शाहको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर घुस मागेको सूचना पाएको बताएका थिए ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १७:३०