प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिने तिथि नजिकिँदै जाँदा सत्ता गठबन्धनका दलहरूबीच आपसी आशङ्का बढेको छ । विश्वासको सङ्कट बढेपछि प्रधानमन्त्रीले पूर्वतयारीभन्दा तीनदिन अघि नै विश्वासको मत लिने भएका हुन् ।
गठबन्धनको सबैभन्दा ठूलो दल एमालेका एक पदाधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम सुरुमा पुस २९ का लागि प्रस्ताव गरिएको थियो । तर प्रतिपक्षी दल कांग्रेससहित केही शक्तिकेन्द्रले समेत विश्वासको मत लिनै असफल बनाउने प्रयास तीव्र बनाएपछि यो तिथि पुस २६ का लागि सारिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन आकस्मिक रूपमा तोडेर एमाले अध्यक्षको निवास बालकोट पुगेपछि आकस्मिक रूपमा सातदलीय गठबन्धन बनेको थियो । त्यसपछि प्रधानमन्त्रीमात्र होइन, राष्ट्रपति, सभामुख, मुख्यमन्त्रीहरूसहित सबै प्रदेश सरकार एकाएक गुमाएको कांग्रेस सभापति देउवा प्रधानमन्त्री दिएर पनि सत्तामा साझेदारी गर्ने प्रयत्नमा लागेका छन् ।
उच्च राजनीतिक स्रोतका अनुसार, प्रधानमन्त्री ‘प्रचण्ड’ गठबन्धन दलका नेताहरूप्रति नै सशङ्कित भएका छन् । उनले विगतको तिक्तताका कारण गठबन्धनको सबैभन्दा ठूलो दल एमालेप्रति पनि पूर्ण भरोसा राख्न सकेका छैनन् । तर राष्ट्रपति, सभामुख, मुख्यमन्त्रीहरूको भागवण्डा कार्यान्वयन गर्न बाँकी रहेकाले एमालेले धोका दिन नसक्ने उनको विश्वास छ ।
प्रतिनिधिसभाभित्र एमाले र माओवादीकेन्द्रको मात्र १११ सिट छ । ती दुई दलबाहेक पनि बहुमतका लागि थप २७ सिट आवश्यक पर्छ । गठबन्धनका दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा–२० सीट), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा–१४ सिट) र जनता समाजवादी पार्टी (जसपा–१२ सिट) को भूमिकामाथि गठबन्धनभित्र आशंका बढेको स्रोतको दाबी छ ।
सत्ता गठबन्धनभन्दा बाहिर रहेको नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्रीसँगको भेटमा विश्वासको मत दिनेबारे प्रष्ट आश्वासन नदिएकाले कतै विश्वासको मत नै असफल बनाएर वैकल्पिक प्रयास सफल हुने त होइन भन्ने आशंका बढेको हो । एमाले नेता गोकुल बाँस्कोटा गठबन्धन सरकारले विश्वासको मत पाउनेमा शङ्का नगर्न आग्रह गर्छन् ।
‘एमाले र माओवादी केन्द्रले विश्वास दिनेमा कुनै शंका छैन,’ उनले भने, ‘अरू दलका प्रधानमन्त्रीका आकांक्षीको व्यक्तित्व त्यो पदका लागि पत्यारलाग्दो बनिसकेको छैन । त्यसैले अहिलेको सरकारले विश्वासको मत पाउँछ ।’ त्यसो त रास्वपा, राप्रपा वा जसपामध्ये कम्तीमा दुईवटा दल गठबन्धनबाट बाहिर निस्किए मात्र सरकार ढल्ने अवस्था छ । राप्रपा र जसपा एमालेसँग तालमेल गरेर चुनाव लडेकाले कम्तिमा पहिलोपल्ट एमाले नेतृत्वको गठबन्धनलाई नै विश्वासको मत दिने आशा गठबन्धनका नेताको छ ।
भर्खरै निर्वाचन सम्पन्न भएकाले नवनिर्वाचित सांसद्हरूबीच आपसी सम्बन्ध प्रगाढ भइसकेको छैन । त्यसैले स्वार्थका लागि यसैपटक राजनीतिक दल फुट्ने संभावना पनि कम रहेको विश्लेषण सत्तापक्षका नेताहरूको रहेको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । तीन उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिए पनि चार जना मन्त्री बिनाविभागीय नै छन् । उनीहरुको जिम्मेवारी पनि विश्वासको मत लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि मात्र तोक्ने तयारी प्रधानमन्त्रीको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं