सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कर्णालीको मुख्यमन्त्रीमा आ–आफ्नै दावी, कसले मार्ला बाजी ?

कर्णालीमा नेकपा एमालेबाट यमलाल कँडेल र नेकपा माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्रीको दौडमा छन् ।

कर्णाली प्रदेशमा पहिलो दल रहेको नेकपा माओवादी केन्द्रले आफूले जसरी पनि मुख्यमन्त्री पाउनुपर्ने भन्दै केन्द्रीयस्तरमा दवाव बढाएको छ । अन्य प्रदेशभन्दा कर्णालीमा माओवादीको अवस्था राम्रो भएको भन्दै कर्णालीमा मुख्यमन्त्रीको दाबी रहेको माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले बताए ।

प्रदेशसभामा नेकपा एमालेका १० र माओवादीका १३ सिट रहेका छन् । सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्ने भए पनि दुई दल मिलाउँदा २३ सिट पुग्छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका यमलाल कँडेल मुख्यमन्त्रीको दौडमा छन् । नेकपा एमाले कर्णाली प्रदेशको एक कार्यदलले कर्णालीमा मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै केन्द्रको ध्यानाकर्षण गराएको छ ।

बिहीबार मात्र प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दावी पेश गर्न आग्रह गरिसकेका छन् । स्रोतका अनुसार मुख्यमन्त्री माओवादीले पाउनुपर्ने त्यसमा पनि रुकुम पश्चिमका राजकुमार शर्मालाई नै गराउनुपर्ने भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा व्यापक रुपमा लागेका छन् ।

कर्णालीमा माओवादीका अर्का पिलरका रुपमा रहेका उपमहासचिव शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटमा माओवादीको प्रदेशसभा सदस्य नै नभएका कारण राजकुमारलाई नै मुख्यमन्त्री बनाउन दवाव दिइरहेको बताइएको छ । कर्णालीमा आफ्नो इज्जत र प्रतिष्ठाको विषयमा भएको भन्दै माओवादीले मुख्यमन्त्री दाबी गरेको माओवादी नेताहरू बताउँछन् । योभन्दा पहिले पनि कर्णालीमा सरकारको पहिलो नेतृत्व माओवादीले नै गरेको थियो ।

केन्द्रमा सहमति नभइ प्रदेशमा केही नहुने माओवादी कर्णाली इन्चार्ज मल्लले बताए । २७ गते नै फाइनली टुंगो लाग्ने उनले बताए । अहिलेसम्म कुनै पनि सहमति नभएको उनको भनाइ छ । मुख्यमन्त्री माओवादीले पाए सभामुख एमाले र उपसभामुख माओवादी पाउने नेताहरुले बताएका छन् । यदी एमालेले मुख्यमन्त्री पाएको खण्डमा सभामुख माओवादीले पाउने छ । यसको लागि केन्द्रमै निर्णय भएर प्रदेशमा आउने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०९:५३