सूचनाको शक्ति - The Power Of Information

        

विश्वासको मत बढाउन नेपाललाई फकाउँदै दाहाल

वर्तमान सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत बढाएर सुविधाजनक सरकार चलाउने प्रयत्नमा लाग्नुभएको छ ।

गत १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल पुस २६ मा विश्वासको मत दिनेगरी मत संख्या बढाउने प्रयत्नमा लाग्नुभएको हो ।

विभिन्न विचार समूहका सात राजनीतिक दलहरू मिलाएर बहुमतको प्रधानमन्त्री बनेका दाहाललाई कुनबेला कसले समर्थन फिर्ता लिन्छ भन्ने त्रास पनि त्यक्तिकै छ ।

सरकारलाई समर्थन गरेका केही दलहरूले अझै सरकारमा जाने या नजाने भन्ने निर्णय गरिसकेका छैनन् । तथापि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूले विश्वासको मत दिने निर्णय गरेका छन् ।

सत्ता सहयात्री दलहरूमा एजेन्डागत विषयदेखि र शक्ति बाँडफाँट समेतलाई लिएर फरक मत राख्न सक्ने त्रासमा प्रधानमन्त्री दाहालले विश्वासको मत बढाउनका लागि पूर्व सत्ता सहयोगीदल नेकपा (समाजवादी) लाई फकाउन जोडबल गरिरहनुभएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०७:२९