सूचनाको शक्ति - The Power Of Information

        

फड्को मार्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

क्यान्सर अस्पतालमा निर्माण भयो ‘पोजिटिभ प्रेसर’ आइसीयू कक्ष

अहिले तयार गरिएको आइसीयू सञ्चालनमा आएको १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्नो सेवा सुविधालाई अत्याधुनिक बनाउँदै लगेको छ । सो अस्पतालले पछिल्लो पटक अत्याधुनिक ‘पोजिटिभ प्रेसर’ आइसीयू कक्ष निर्माण गरी सेवा विस्तार गरेको छ ।

आइसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.निरज भट्टराईले बिरामीलाई थप सेवा सुविधा प्रदान गर्न तत्काललाई चार शैय्याको ‘पोजिटिभ प्रेसर’ आइसीयू सञ्चालनमा ल्याइने बताए ।

उक्त आइसीयू क्यान्सरका बिरामीका लागि मात्रै प्रयोग गरिने कार्यकारी निर्देशक डा.भट्टराईले बताए । उनका अनुसार आइसीयू कक्ष निर्माणको सबै काम पूरा भइसकेकाले दक्ष जनशक्ति व्यवस्था गरेर सञ्चालनमा ल्याइनेछ । डा.मनु भट्टराईको नेतृत्वमा सो आइसीयू सञ्चालन हुने अस्पतालले जनाएको छ ।

आइसीयूका लागि कर्मचारीलाई तालिम दिएपश्चात् सञ्चालनमा आउनेछ । अहिले तयार गरिएको आइसीयू सञ्चालनमा आएको १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ । अस्पतालमा दिनदिनै बिरामीको सङ्ख्या बढ्दै जाँदा दुई जना मेडिकल अधिकृत थप्न पहल भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

हाल टाउको, घाँटी, मुटु, पोक्सो, रक्तनली सम्बन्धी क्यान्सरको उपचारका साथै मेडिकल अङ्कोलोजी, सिटीस्क्यानको माध्यमबाट गरिने बायोप्सी, तनाव लगायका अन्य समस्याको उपचार पनि अस्पतालमा उपलब्ध रहेको छ । पछिल्लो समयमा पश्चिम नागरिकका लागि क्यान्सर अस्पताल वरदान सावित हुँदै गएको छ ।

अस्पतालको सेवा विस्तारसँगै उपचारका लागि आउने बिरामीको चाप दिन प्रतिदिन बढिरहेको छ । क्यान्सर उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अस्पतालका अनुसार पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमा सुलभ र गुणस्तरीय उपचार सेवा पाइरहेका छन् ।

अस्पतालमा नयाँ प्रविधिको प्रयोग बढिरहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.निरज भट्टराईले जानकारी दिए । वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा जाने गरेका बिरामी खजुरा आउन थालेका छन् । महायज्ञ गरेर सङ्कलन भएको रकमबाट सञ्चालनमा आएको क्यान्सर अस्पताललाई पछि सरकारीकरण गरेर पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा अस्पतालको नामाकरण गरिएको हो ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १३:१२