सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कार्यालयबाट प्रहरीका ३५ चालक फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटारस्थित सरकारी निवास र सिंहदरबार स्थित कार्यालयमा खटिएका प्रहरीका चालकलाई फिर्ता गर्ने निर्णय गरिएको छ ।

प्रहरी प्रधान कार्यालयबाट खटिएका ३५ जना चालकलाई फिर्ता गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सह–सचिव नारायण प्रसाद भट्टले बताए । पुस १९ मा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेर ३५ जना चालकलाई निरन्तर कामकाज गर्ने गरी अनुरोध गरेको थियो । तर, सो निर्णयबाट प्रधानमन्त्री कार्यालय पछि हटेको हो ।

गृह मन्त्रालयले पुस १२ मा कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि गृह मन्त्रालयमा कार्यरत चालकहरू पनि फिर्ता भएका छन् । गृह मन्त्रालयमा कार्यरत ३१ जना चालक २४ घण्टाभित्र प्रहरी प्रधान कार्यालय फिर्ता भएका थिए ।

प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेले पुस १९ मा लेखेको पत्रमा भनिएको छ, ‘आदेशअनुसार अर्को व्यवस्था नभएसम्मको प्रधानमन्त्री निवास र कार्यालयमा खटिएका सवारी चालकलाई यस कार्यालयमा निरन्तर कामकाज गर्ने गरी व्यवस्था हुन आदेशअनुसार अनुरोध छ ।’ तर, पत्राचार गरेको दुई दिनमै सो निर्णयबाट पछि हटेर प्रधानमन्त्री कार्यालयले चालकहरूलाई फिर्ता पठाउने भएको छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १२:५०