उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत बुधबार एक निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको शिलशिलामा बाहेक नेता भेट्न पूर्व स्वीकृती लिनुपर्ने नियम लागू गरे । कसैले त्यस विपरीत भेटेको पाइएमा उनीहरूमाथि कारबाही गर्ने चेतावनी समेत दिइयो ।
तर गृहमन्त्रीको भनाइपछि पनि प्रहरीले नेता भेट्ने क्रम रोकिएको छैन । प्रहरी प्रधान कार्यालयमै कार्यरत डिआइजी भिम ढकाल फुलको गुच्छा लिएर सांसद एकनाथ ढकालको चाकडीमा गएको फोटो सार्वजनिक भएसँगै गृहमन्त्रीको चेतावनी निकम्मा बनेको छ ।
सांसद ढकालले आफुलाई बधाई दिन आएकोमा डिआइजीलाई फेसबुकमार्फत धन्यवादसमेत दिएका छन् । प्रहरीले गृहमन्त्रीबाहेक कुनै नेतालाई आधिकारीक रुपमा बधाई दिन नपाउने भनिएको छ । तर, डिआइजी ढकालले भने गृहको निर्देशन लत्याउँदै सांसदको गर्न भ्याइसकेका छन् ।
यता, नेपाल प्रहरीका पूर्व डीआइजी महेशविक्रम शाहले पनि गृहमन्त्री लामिछाने लक्षित आजको दुनियाँ हुकुमी शासनले नचल्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘आजको दुनियाँ हुकुमी शासनले चल्दैन मन्त्रीज्यू, हुकुमी शासन फालेर लोकतन्त्र ल्याएको होइन र ? जे गर्नुछ कानून अनुसार गर्नुस् । कानून छैन भने बनाएर लागू गर्नुस् ।’
उनले काम गर्न हल्ला र चटक नगर्नसमेत गृहमन्त्रीलाई सुझाव दिँदै भनेका छन् । ‘मन्त्री हुनु भनेको सर्कसको चटके होइन । जे पायो त्यै खोक्न र स्टन्ट गर्न बन्द गर्नुस् । सन्दुक रुईत, भगवान कोइराला र कुलमानले स्टन्टबाजी गरेर नागरिकको मन जितेका होइनन् । परिणाम दिएर जितेका हुन् । काम गर्न हल्ला र चटक गर्नु पर्दैन । बेलैमा सद्बुद्धि आओस् ।’
सत्यपाटी संवाददाता । काठमाडौं