सूचनाको शक्ति - The Power Of Information

        

गायनमा सक्रिय हुँदै समीक्षा, पिकअप लिनै गाह्रो

गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पहिलेकै सक्रियता फर्काउने कसरतमा छिन् । लोकप्रिय समीक्षाको सांगीतिक करिअरमा अघिल्लो वर्षबाट लगभग ब्रेक लागेको थियो ।

लामो समय सामाजिक सञ्जालबाट पनि विश्राम लिएकी समीक्षालाई करिअरमा पिकअप लिन भने निकै गाह्रो भइरहेको छ । स्टेज कार्यक्रममा निकै व्यस्त बनिसकेकी समीक्षाले पछिल्लो समय सहभागिता जनाउन पाएकी छैनन् ।

बल्ल पाएका स्टेज शोमा पनि विरोध गर्नेहरुका कारण जान सक्ने अवस्था सिर्जना भइसकेको छैन । तर गीत रेकर्डिङमा भने समीक्षा फर्किएकी छन् । उनको सांगीतिक करिअर बिस्तारै लयमा फर्किंदै गएको छ ।

पछिल्लो समय जिममा समेत व्यस्त रहेकी समीक्षा हरेक दिन नयाँ गीत रेकर्ड गरिरहेकी छन् । उनका नयाँ गीत युट्युबमा रिलिज हुने क्रम पनि बढेको छ । पछिल्ला केही दिनमा उनका चार गीत रिलिज भइसकेका छन् ।

गीतकार राजेन्द्र थापाको शब्दमा समीक्षाले स्वर दिएको ‘यस्तो नहोस् कसैलाई’ बोलको गीत केही दिनअघि रिलिज भयो । थापाले उक्त गीत समीक्षाका लागि नै लेखिएको बताए । गीत गाउँदै गर्दा समीक्षा रोएको आवाज भिडिओमै राखेर सार्वजनिक गरियो ।

उक्त गीतले निकै चर्चा पायो । त्यसयता उनको स्वरमा ‘भो कुरै नगर’, ‘दर्पण छायाँमा’, ‘निभेको चुलो’लगायत गीत सार्वजनिक भए । समीक्षा गायनसँगै सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन् ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १२:१८