रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि त्यसको चर्को आलोचना भएको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ साँढेलाई लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर घिसारेको थियो ।
सडकमा घिर्सादा साँढे रक्ताम्य भएपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी गरेका छन् । साँढेलाई रक्ताम्य हुने गरी ट्रकको पछाडि बाँधेर घिसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न नगर प्रमुखलाई ज्ञापनपत्र दिने बताएका छन् ।
नेकपा एमाले सिद्धार्थनगरका सचिव नारायणप्रसाद भण्डारीले पनि जिउँदो पशुलाई ट्रकले घिसार्दै रक्ताम्य बनाएको भन्दै यसबारे नगर प्रमुखले जवाफ दिनुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।
सत्यपाटी संवाददाता । रुपन्देही