राजनीतिक दलहरुले बजेट निर्माणमा सधैंजसो विवाद झिकेपछि नयाँ संविधानले जेठ १५ मा आगामी वर्षको वार्षिक बजेट ल्याउनुपर्ने किटानी व्यवस्था गरेको छ । यो व्यवस्थापछि बजेटमा राजनीतिक दलहरुले गर्ने विवाद धेरै कम भएर गएको छ ।
बजेटजस्तै अब मौद्रिक नीति सार्वजनिक गर्ने समय पनि निश्चित गरिएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकले नीति सार्वजनिक हुने निश्चित मिति तोकेको हो । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुने समय साउन पहिलो सातालाई तोकेको छ ।
केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन गर्दै मौद्रिक नीति र यसको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समयसीमा निर्धारण गरेको छ ।
राष्ट्र बैंकले बुधबार मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन, २०७९ जारी गर्दै मौद्रिक नीति सार्वजनिक हुने मिति साउन पहिलो सातासम्मलाई निर्धारण गरेको हो ।
सत्यपाटी संवाददाता । काठमाडौँ