अमेरिकामा अनुमतिबिना शवका अंगहरु बेचेको आरोपमा एउटा अन्त्येष्टि गृहका पूर्वमालिक र उनकी आमालाई काराबास सजाय दिइएको छ ।
सन् २०१० देखि २०१८ बीच ४६ वर्षीया मेगन हेस र ६९ वर्षीया सिर्ली कोचले करिब ५६० वटा शवका अंगहरु निकालेको बुझिएको बीबीसीले लेखेको छ ।
तिनीहरुले ती अंग चिकित्सा तालिम कम्पनीहरुलाई बेच्ने गरेका थिए । ती कम्पनीहरु भने आमा छोरीले अवैध तरिकाले मानव अंग जुराउने गरेको तथ्यबाट अनभिज्ञ रहेका थिए ।
सरकारी वकिलहरुका अनुसार तिनीहरुले कहिलेकाहीँ पूरै शव पनि बेच्ने गरेका थिए । अमेरिकामा मानव अंग दान गर्ने कानुनी प्रावधान भए पनि तिनीहरुलाई बेच्न भने पाइँदैन ।
अदालतले हेस र कोचलाई क्रमशः २० र १५ वर्ष लामो काराबास सजाय सुनाएको छ । मोन्टरोज सहरमा ‘सनसेट मेसा फ्युनरल होम’ सञ्चालन गर्ने गरेकी हेसले अन्त्येष्टि शुल्कवापत शोकाकुल परिवारसँग एक हजार अमेरिकी डलरसम्म लिने गरेको पनि खुलेको छ ।
सत्यपाटी संवाददाता । न्युयोर्क