सूचनाको शक्ति - The Power Of Information

        

मर्मतका लागि युरोप पठाइएको ताइवानी सैन्य उपकरण चीन पुगेपछि…

ताइवानी सेनाले प्रयोग गर्ने क्षेप्यास्त्रहरु मध्येमा कम्तीमा एउटाको एक उपकरण मर्मतका लागि चीनमा पठाइएको थाहा भएपछि ताइवानमा बृहत राष्ट्रिय सुरक्षाका लागि व्यापक आवाज उठ्न थालेको छ ।

वास्तवमा ताइवानको युद्धपोत क्षेप्यास्त्र भेदक सिउङ–फेङ–३ को प्रक्षेपण कार्यमा प्रयोेग गरिने एउटा अप्टिकल उपकरण मर्मतका लागि युरोपस्थित यसको उत्पादन केन्द्रमा पठाइएको थियो ।

तर, ताइवानी सञ्चारमाध्यमका अनुसार सो उपकरणलाई पूर्वी चीनको सान्डोङ प्रान्तबाट ताइवान फर्काइएको छ । गत वर्ष चीनले टापु राष्ट्र ताइवान वरपर आफ्नो सैनिक गतिविधि तीव्र पारेको थियो ।

चीनले सधैँ नै ताइवानलाई आफ्नै भूभाग भएको दाबी गर्दै आएको छ । साथै, चीनले आवश्यक परेमा सैनिक बल प्रयोग गरेर भए पनि ताइवानलाई एकीकरण गरिने पनि बताउने गरेको छ । तर, स्व–शासित ताइवानले भने आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको रुपमा हेर्ने गरेको छ ।

यसैगरी, ताइवानी राष्ट्रपति त्साइ इंग–वेनले बेइजिंगबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर राख्दै प्रतिरक्षा स्थितिलाई सुदृढ बनाउन नयाँ योजनाहरु घोषणा गरेकी छन् । यसअन्तर्गत ताइवानी जनतालाई चार महिनाबाट बढाएर एक वर्ष लामो अनिवार्य सैनिक सेवा पनि घोषित गरिएको छ ।

एक विज्ञप्तिमार्फत ताइवानी क्षेप्यास्त्र विकासकर्ता राष्ट्रिय चुङ–सान विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाएको छ, ‘ताइवानी सेनालाई क्षेप्यास्त्र उपलब्ध गराउने स्विजरल्यान्डको एउटा कम्पनीलाई त्यो बिग्रेको उपकरण पठाइएको थियो । तर, त्यो उपकरण चिनियाँ सहर क्विंगदाओस्थित कम्पनीको एसिया मर्मत केन्द्रमा मर्मतका लागि पठाइएको रहेछ । तर, युरोप पठाइनुअघि यसको मेमोरी कार्ड झिकिएको थियो । फर्काइएपछि पनि यसको सूचना सुरक्षा परीक्षण गरिएको छ । सूचना चुहावट हुनसक्ने सम्भावनाबारे कुनै चिन्ता छैन ।’

यसैबीच, ताइवानको प्रतिरक्षा सुरक्षा अनुसन्धान प्रतिष्ठानका डा. सु त्जु–युनले अप्टिकल उपकरणहरु क्षेप्यास्त्रका प्रत्यक्ष भाग नभएको तर ताइवान थप सतर्क रहनुपर्ने बताएका छन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०५:५८