सूचनाको शक्ति - The Power Of Information

        

खजुराका विद्यालय तीन दिनका लागि बन्द

शीतलहर शुरु भएपछि बढेको अत्यधिक चिसोले बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द गरेको छ । अत्यधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि पुस २० गतेदेखि २३ गतेसम्म लागि पालिकाभित्रका सबै विद्यालय बन्द गरिएको बताए ।

चिसोले बालबालिकालाई विद्यालय जान कठिन भएको अभिभावकले जानकारी गराएर बिदाको माग गरेपछि तीन दिन सबै विद्यालय बन्द गरिएको उनको भनाइ छ । सोही प्रकार जिल्लाका अन्य पालिकामा पनि विद्यालय बन्द गर्नुपर्ने माग अभिभावकले गरेका छन् ।

सोही प्रकारले कोहलपुर नगरपालिका लगायत जिल्लाका अन्य गाउँपालिकाका स्थानीयले पनि चिसोले बालबालिकालाई विद्यालय पठाउन नसकिने जनाउँदै केही दिन विद्यालय बन्द गर्न माग गरेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नेपालगन्जले जनाएको छ । त्यसबारेमा पालिकाहरुसँग छलफल भैरहेको पनि सो कार्यालयले जनाएको छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ६ देखि ८ डिग्रीमा झरेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्यधिक बढ्दा मानिसहरुको दैनिकी अति नै कष्टकर बन्दैगएको छ ।

बाक्लो हुस्सुका कारण सवारीसाधन दिउँसै हेडलाइट बालेर चलाउनु परेको भने चिसोले जिल्लाका प्रमुख बजारहरुमा मानिसहरुको चहलपहल पनि घटेको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १९:४५