सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीबासीका लागि ‘नागमणी’

कर्णालीको जडिबुटी कौडीको भाउमा बिक्री, छैन परीक्षण प्रयोगशाला

कर्णालीमा जडिबुटी परीक्षण प्रयोगशाला छैन । अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने उत्पादनका लागि प्रयोगशाला परीक्षण आवश्यक छ ।

कर्णालीले जडिबुटीको प्रचुर सम्भावना बोकेको छ । जडिबुटी खेती प्रवर्धन गरेर कर्णालीमा उत्पादित जडिबुटीलाई व्यवस्थितरुपमा बिक्री वितरण गर्ने हो भने पनि जडिबुटीबाटै कर्णालीको आर्थिक सबलिकरणमा सहज हुन्छ । अनेकौं किसिमका जडिबुटी उत्पादन हुने क्षेत्र भएर पनि जडिबुटीको राजधानीको रुपमा कर्णालीलाई लिइन्छ ।

सरकारले कर्णालीलाई जडिबुटीको जोन क्षेत्र घोषणा गरिसकेको छ । जडिबुटीको पकेट क्षेत्र पहिचान, स्थायी नर्सरी निर्माण, जडिबुटी प्रजाति प्राथमिकीकरण, जडिबुटी विरुवा उत्पादन तथा खेती विस्तार भइरहेको छ । वन विकास गुरुयोजनाले पनि आर्थिक समृद्धिका लागि जडिबुटीको प्रवद्र्धन गर्ने भनेको छ, यही अनुसारका कार्यक्रमहरु कार्यान्वयन भइरहेका छन् ।

नेपालमा हाल ७०० प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये ७०० प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ । विभागका अनुसार औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेका छन् ।

वनस्पति विज्ञहरुका अनुसार कर्णालीमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेका छन् । यहाँबाट ७९ प्रकारका जडिबुटी निर्यात गरिन्छ । कर्णालीमा १४७ जातको जडिबुटी पाइने अनुमान गरिए पनि प्रशोधन भण्डारणका लागि नेपालगन्ज लैजानुपर्ने बाध्यता छ ।

कर्णालीको जडिबुटी विदेश निर्यात

यहाँका अधिकांश जडिबुटी बाह्य देशमा निर्यात हुँदै आएको छ । सरकारी तथ्यांक अनुसार वार्षिक रुपमा करिव १२ हजार मेट्रिक टन जडिबुटी कर्णालीबाट निर्यात हुँदै आएको छ । तर ती सबै जडिबुटी प्रशोधनबिना कच्चा पदार्थका रुपमा नै निर्यात हुने गरेको कर्णाली प्रदेश वन निर्देशनालयले जनाएको छ ।

कर्णालीले आर्थिक वर्ष २०७८–०७९ मा जडिबुटीतर्फ राजस्व संकलनमार्फत कुल तीन करोड ३६ लाख नौं हजार ५८८ रुपैयाँ राजस्व संकलन गरेको प्रदेश वन निर्देशनालयका निर्देशक गोविन्दप्रसाद दहाल बताउँछन् । तर कच्चा पदार्थको रुपमा मात्र बहुमूल्य जडिबुटी प्रदेशबाट बाहिर निर्यात हुँदा स्थानीयस्तरमै यसको उच्चतम् उपभोग भएको देखिँदैन ।

प्रदेशमै कच्चा पदार्थको प्रशोधन गरी तयारी सामाग्री मात्र निर्यात गर्न सके अन्तर्राष्ट्रिय बजारमा कर्णालीबाट समेत मागपूर्ति हुने तथा प्रदेशलाई आम्दानीको थप स्रोत समेत प्राप्त हुन सक्ने अवस्था छ । यही अवधारणाका साथ वीरेन्द्रनगरमा सुगन्धित तेल उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना भएको छ, ‘बायोकर्णाली एरोमा ।’

कर्णालीमा उपलब्ध जडिबुटीको पात, काण्ड तथा जरालाई वाष्पीकरण विधिबाट तेल उत्पादन गरी उद्योगले युरोपको बजारमा निर्यातसमेत सुरु गरिएको छ । अन्तरराष्ट्रिय बजार लम्केका चार उत्पादन १५ मिलिलिटर झोल भएको साना डिब्बा छन्, कर्णालीमा भरिएका यी डिब्बा अहिले स्पेन र जापानका लागि पठाइसकिएको छ ।

‘भलेरियन, लेमन ग्रास, युकलिप्टस र क्याम्फर’ नाम गरेका फरक–फरक चार वटा उत्पादनलाई बजार परीक्षणका लागि स्पेन र जापान पठाइएको उद्योगका सञ्चालक राजेन्द्र विष्टले जानकारी दिए । ‘प्रत्येक उत्पादन करिब ६० वटा जत्ति हामीले बाहिर पठाएका छौँ, यी सामाग्रीका बारेमा राम्रै प्रतिक्रिया पाएका छौँ । उनले भने, अब भने धेरै मात्रामा यसको उत्पादन हुन्छ होला ।’

यी उत्पादनहरुलाई सौन्दर्य, सुगन्ध चिकित्सा, स्वच्छ–सरसफाईका क्षेत्रमा प्रयोग गर्न सकिने विष्टले जानकारी दिएका छन । सामान्य आँखाले हेर्नुपर्दा यी उत्पादनहरु अन्य तरल पदार्थसँग मिश्रण गरी प्रयोग गर्ने हो । खासगरी युरोपको बजारमा योग उपचार लगायतका क्षेत्रमा यस्ता अर्गानिक उत्पादनको माग बढी हुने विष्ट बताउँछन् ।

यसका साथै जडिबुटीको प्रयोगले धुप, छालामा लगाउने ‘क्रिम’ लगायतका क्षेत्रमा उद्योगले अन्य उत्पादनहरु निर्माण प्रक्रिया समेत सुरु गरेको उनले जानकारी दिए । कच्चा पदार्थ र नीतिगत असहजता वीरेन्द्रनगर नगरपालिका नै स्थायी ठेगाना रहेका उद्योग सञ्चालक बिष्ट जैविक रसायनमा स्नात्तकोत्तर गरेका युवा हुन् ।

कोभिड–१९ संक्रमणकालिन समयमा बाहिरी जिल्ला र देशबाट आउनुअघि नै वीरेन्द्रनगरमा ‘सेनिटाइजर’ लगायतको उत्पादन गरेका थिए । यसतर्फ स्वास्थ्य सरसफाई सामाग्री उत्पादनका लागि उनको अर्को छुट्टै उद्योग सञ्चालनमै रहेको छ । कर्णालीबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उद्देश्यले उनले २०७९ वैशाखमा बायो कर्णाली एरोमा उद्योग सञ्चालनमा ल्याए ।

आफ्नै प्रयोगशालामा परीक्षण गरी उनले ‘भलेरियन, लेमन ग्रास, युकलिप्टस र क्याम्फर’ नामक चार वटा सामाग्री उत्पादन गर्दै आए पनि उद्योगलाई आवश्यक कच्चा पदार्थ आयातको समस्या छ । ‘झन्झटिलो प्रक्रियाले उद्योगका लागि आवश्यक जडिबुटी ल्याउनै समस्या छ । विष्ट भन्छन्, ‘कच्चा पदार्थको लागि एक वर्ष पहिले वन कार्यालयमा निवेदन दिनुपर्छ ।’

उद्योगले चाहेको बेला कच्चा पदार्थ ल्याउनै समस्या हुन्छ । कर्णालीमा व्यवसायीक जडिबुटी खेती सुरु भए पनि किसानले निर्वाधरुपमा आफ्ना उत्पादन बिक्री गर्नसक्ने अवस्था नहुँदा त्यसको प्रत्यक्ष असर उद्योगलाई परेको छ । उनले भने, ‘२५ केजी जडिबुटी ल्याउन त निकै गाह्रो छ । उद्योगमैत्री नीति छैन, सबै ठाउँमा कागजपत्र पेश गर्नुपर्छ, निकै झन्झट छ ।’

कर्णालीमा जडिबुटी परीक्षण प्रयोगशाला छैन । अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने उत्पादनका लागि प्रयोगशाला परीक्षण आवश्यक छ । त्यसका लागि कर्णालीमा रहेको उद्योगले काठमाडौं नै धाउनुपर्ने हुन्छ । जसका कारण उत्पादन लागत समेत बढ्न जान्छ र उत्पादित सामाग्रीले अन्तरराष्ट्रिय बजार मूल्यसँग प्रतिष्पर्धा गर्दा समस्या हुने उनले बताए ।

तेस्रो मुलुक निकासी गर्दा अपनाउनुपर्ने मापदण्ड पूरा गर्नै कठिन भएको उनको गुनासो छ । ‘जडिबुटी संकलनदेखि प्याकेजिङ र भण्डार गर्दासम्मको प्रक्रियामा धेरै कुराहरुमा अन्तर्राष्ट्रिय रुपमा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । जुन पूरा गर्न हामीलाई, जनशक्ति, प्राविधिक कुराको कष्ट प्रोटेक्सन बढी छ,’ उद्योग सञ्चालक बिष्टले भने ।

कोभिडपछि बढ्यो जडिबुटीको महत्व

कर्णालीका गाउँगाउँ बस्ती बस्तीका कतिपय क्षेत्रहरु जडिबुटी उत्पादनको प्रचुर सम्भावना बोकेका छन् । ग्रामिण भेगका कयौं खेतहरु बाँझा छन् । झाडी र बुट्यानले ढाकेका यहाँका भू–भागमा स्थानीय सरकारसँग समन्वय गरेर जडिबुटी खेती गर्न सके विश्व बजारमा माग अनुसार निर्यात बढाउन सकिने अवस्था रहेको जडिबुटी व्यवसायीहरु बताउँछन् ।

विश्व बजारमा नेपाली जडिबुटीको प्रचारप्रसारसँगै माग पनि बढेको छ । तर माग अनुसार निर्यात हुन सकेको छैन । अझै पनि माग बढ्न सक्ने सम्भवना छ । कोभिडपछि अझै जडिबुटीको महत्व बढेको छ । कतिले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि जडिबुटीको प्रयोग गर्न थालेपछि जडिबुटीको निर्यात बढाएको जडिबुटी व्यवसायीहरु बताउँछन् ।

पछिल्लो समय युरोप, चीन, भारत लगायतका मुलुकमा औषधिजन्य नेपाली जडिबुटीको माग बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जडिबुटीको माग बढिरहेकाले आगामी दिनमा जडिबुटी निर्यातबाट मुलुकले आर्थिक समृद्धिमा फड्को मार्न सक्ने उद्योग सञ्चालक बिष्टको दावी छ । तर, यसका लागि नीतिगत सुधारको खाँचो रहेको उनले बताए ।

तथ्यांक सार्वजनिक भइरहँदा गर्व महसुस गर्नेपर्छ । औषधि बनाउनका लागि कच्चा पदार्थको रुपमा जडिबुटी विदेश निर्यात भइरहेको छ । पछिल्लो समय विदेशी बजारमा स्वदेशी जडिबुटीको माग बढीरहेको भए पनि उत्पादन कम हुँदा माग अनुसार निर्यात बढाउन नसकिएको जडिबुटी व्यवसायीहरुको भनाइ छ ।

जडिबुटी व्यवसायीहरुका कोभिड–१९ पछि अझै जडिबुटीको महत्व बढेपछि माग पनि ह्वात्तै बढेको छ । बायोकर्णाली एरोमा उद्योगका सञ्चालक बिष्टका अनुसार जटामसीको बजार मूल्य बढ्दै गएको छ । कर्णालीस्थित हुम्ला जुम्लाको हिमाली भेगमा जटामसीको उत्पादन बढी हुने गर्छ । उनका लेबल ग्रास, घाँसे वनस्पतिको तेल ५ हजारसम्ममा बिक्री हुने गर्छ ।

रिट्टा टिमुर, तेजपात जस्ता जडिबुटी कच्चा पदार्थको रुपमा भारतमा बढी जाने गरेको छ । पछिल्लो समय टिमुरको माग तेस्रो मुलुकहरुमा पनि बढिरहेको तथ्यांकले देखाउँछ । ‘जडिबुटीमा लगाइएको झन्झटलो प्रावधान हटाउन जरुरी छ,’ उद्योगका सञ्चालक बिष्टले थपे, ‘सरकारले उत्पादन बढाउने नीति लिन सके निर्यात अझै बढ्न सक्छ ।’

विशेषगरी नेपालको हिमाली क्षेत्रमा बहुमुल्य किसिमको जडिबुटी उत्पादन हुँदै आएको छ । जडिबुटी उत्पादन बढाउन सके राज्यले नै प्रशस्त रुपमा आर्थिक लाभ लिन सकिने जडिबुटी विज्ञहरु बताउँछन् । जडिबुटी व्यवसायीहरुले भने सरकारले नै जडिबुटी प्रवद्र्धनमा चासो नदेखाएकाले मागअनुसार विदेश निर्यात गर्न नसकिएको दाबी गरिरहेका छन् ।

उद्योगका सञ्चालक बिष्टले भने, ‘अब बढ्दो माग अनुसार आपूर्ति गर्न उत्पादन बढाउनुपर्छ । भूगोल अनुसार उत्पादन हुने जडिबुटी पहिचान गरेर स्थानीय निकायले यसलाई प्रोत्साहन गर्नुपर्छ । हरेक स्थानीय तहले आफ्ना क्षेत्रमा उत्पादन हुने वा हावापानी अनुसार कस्ता किसिमको जडिबुटी उपयुक्त हु्न्छ त्यो अनुसार उत्पादन गर्न सक्नुपर्छ ।’

कर्णालीबाट कस्ता जडिबुटी निर्यात हुन्छन् ?

अनेकौं किसिमका जडिबुटी उत्पादन कर्णालीका पहाडी तथा हिमाली जिल्लाबाट धेरै मात्रामा जुडिबुटी निर्यात भएको देखिन्छ । प्रदेश वन निर्देशनालयको तथ्यांक अनुसार यहाँबाट निर्यात हुने ७९ प्रकारका जडिबुटीहरुमा अत्तीस, अमलवेद, अमला, अल्लो, अल्लो धागो, अल्लोको बोक्रा, कराचुल्ठे, काकंरसिंगे लगायतका जडिबुटी निर्यात हुँदै आएका छन् ।

यसैगरी काउलो (दाना–बोक्रा), कालो काठको दाना, कालो मसुली, कुट्की, कुरिलो, कुरिलोको जरा, खिरौला, गिठी (बोक्रा), गुच्ची च्याउ, गुजर गानो, गुडमार, गुराँसको फूल, गुर्जो, गोकुलधुप, घोडताप्रे, घोडा मच्चा, चिउरी, चिराईतो, चुत्रो–चुत्रोको बोक्रा, जटामसी, टिमुर, ठटेला–ढटेलो, डालेचुक, ढडेलमे लगायतका जडिबुटी पनि निर्यात हुन्छन् ।

साथै कर्णालीले तीगेडी, तीतेपाती, तेजपात, तेलाली काठ–फुरु (पीस), दालचिनी, धुपीपात (बोक्रा–गेडा), पदमचाल, पानी अमला, पावन बोक्रा, पाषण वेद, बज्रदन्ती, बाँस (घना), बायोजडी, बुकीफुल, बोझो–बोझोको जरा, भिर मह, भुतकेश, भृंगराज, भोजपत्र, मइन (लाहा), मजिठो, मह, यार्सागुम्बा, रातो च्याउ जस्ता जडिबुटीहरु निर्यात गर्दै आएको छ ।

कर्णालीबाट रिठ्ठा, लोक्ता, वन आलु, वन प्याज, वन लसुन, विष, विषजरा, विषफेज, शिलाजीत, सजिवन, सतावरी, सतुवा, सात गाठे, साधारण च्याउ, सिल्टीमुर, सुगन्धवाल, सुनपाती, सिस्नु (पात–डाँठ–पाउडर–जरा), सेतकचिनी, सेतो मसुली, सोमलता, स्लेटपत्थर र हर्रो लगायतका जडिबुटी कर्णालीबाट निर्यात हुँदै आएको प्रदेश वन निर्देशनालयको तथ्यांक छ ।

तालिम र अनुदानको आवश्यकता

अझै पनि पुरातन कृषि प्रणालीमै धेरै कृषकहरु आश्रित छन् । बिहान खायो बेलुकी के खाउँ भन्ने अवस्था छ । राम्रो कृषि उत्पादन नहुने क्षेत्रमा जडिबुटी खेती बिस्तार गर्ने नीति लिनु आवश्यक रहेको जडिबुटी व्यवसायीहरु बताउँछन् । ‘कतिपय कृषकहरुले चाहेर पनि जडिबुटी खेती गर्न सकिरहेका छैनन्,’ जडिबुटी उद्योगी बिष्टले भने ।

उनका अनुसार धेरै कृषकलाई जडिबुटीको बारेमा थाहा छैन । उद्योगी बिष्ट भन्छन्, ‘कसरी जडिबुटी खेती गर्ने ? कुन समयमा उत्पादन हुन्छ ? भन्ने विषयमा कृषकलाई थाहा नै छैन । भूगोल अनुसार उत्पादन हुने जडिबुटीको खेती गर्नका लागि सरकारले कृषकलाई आवश्यक तालिम दिएर दक्ष बनाउनुपर्छ । यसले जडिबुटी खेतीलाई आधुनिकीकरण गर्न सकिन्छ ।’

विश्व बजारमा जडिबुटीको माग बढिरहेका बेला नेपाली कृषकले यसको उत्पादन बढाउन सके मुलुक जडिबुटीमा आत्मनिर्भर बन्न सक्ने उद्योगी बिष्ट बताउँछन् । जडिबुटीको निर्यात अझै बढाउन उत्पादनमा जोड दिनुपर्ने उनको तर्क छ । जडिबुटी खेतीमा कृषकलाई प्रोत्साहन गर्न सरकारले अनुदानको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १७:३७