सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतको घण्टाघरमा बाह्र वर्षपछि ‘नयाँ घडी’

सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघरमा १२ वर्षपछि पुराना घडी हटाएर नयाँ घडी जडान गर्न लागिएको छ ।

१२ वर्षदेखि बन्द घण्टाघरका घडी सञ्चालनमा ल्याउन नसकिएपछि सुर्खेत उद्योग वाणिज्य सङ्घको पहलमा वीरेन्द्रनगर नगरपालिकाले १२ लाख रुपैयाँको लागतमा नयाँ घडी जडान गर्न लागेको हो ।

घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि पुराना घडीहरू मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान कार्य सुरु भएको छ ।

नयाँ घडी जडान गर्न प्राविधिक टोलीले घण्टाघरका पुराना घडीलाई विस्थापित गरी नयाँ जडानको तयारी सुरु गरिसकेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिए ।

घण्टाघरको घडीको सुई विगत १२ वर्षदेखि रोकिएको छ । २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको सुईले स्थानीयलाई समयको अड्कल लगाउन सहज बनाएको थियो ।

घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका थिए । कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको घण्टाघर सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १६:४४