सूचनाको शक्ति - The Power Of Information

        

दादुरा उन्मुलन लक्ष्य पुरा गर्न चुनौती

नेपालगन्जमा भेटियो दादुरा, एउटै टोलमा चार जना संक्रमित

एउटै परिवारका धेरै जनामा दादुरा देखिएकाले गम्भीररुपमा लिएर स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ मा एउटै टोलमा चार जना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

तीमध्ये तीन जना एउटै घर परिवारका हुन् । एउटै परिवारका तीनसहित चार जनामा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालयको टोली पुगेर शङ्कास्पद दादुराका बिरामीहरूको खोजी गरिरहेको छ ।

टोलमा १५ जना शङ्कास्पद भेटिएकोमा पाँच जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चार जनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी विकल्प चौधरीले जानकारी दिए ।

एउटा टोलमा पाँच जनासम्ममा दादुराका बिरामी फेला परेमा महामारीको रूपमा लिने गरिएकोमा एउटै घरमा चार जनामा दादुराका बिरामी भेटिएकाले स्वास्थ्य कार्यालयले महामारीको रूपमा लिँदै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

‘दादुराको खोप नलगाएका र पुरा खोप नलगाएका बालबालिकामा दादुरा देखिन्छ,’ स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले भने, ‘एउटै परिवारका धेरै जनामा दादुरा देखिएकाले गम्भीररुपमा लिएर स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।’

नेपालमा सन् २०२३ भित्र दादुरा उन्मूलन गर्ने सरकारी लक्ष्य रहेको भए पनि अहिले दादुराका बिरामीहरू भेटिन थालेपछि लक्ष्य पुरा गर्न चुनौती हुने देखिएको छ । दादुरा उन्मुलनको लक्ष्य अनुसार प्रतिहजारमा एक जनाभन्दा कम बालबालिकामा दादुरा झार्नु हो ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १७:३०