सूचनाको शक्ति - The Power Of Information

        

एमाले अखिलमा नयाँ अध्यक्षको खोजी

नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ अध्यक्षको खोजी सुरु भएको छ । संगठनकी अध्यक्ष सुनिता बराल सांसद बनेपछि अध्यक्ष पद छाड्न दबाब परेको छ ।

१५ महिनाअघि बराल संगठनको अध्यक्ष बनेकी हुन् । उनी निर्वाचनबाट होइन, पार्टी नेताहरूको आशिर्वादका आधारमा अध्यक्षमा मनोनित भएकी हुन् ।

अनेरास्ववियुमा उनी भन्दा सिनियर र क्षमतावान नेताहरू पछि परेका छन् । तर, केपी ओलीकै निकटताका कारण उनले पटक पटक अवसर पाउँदै आएकी छिन् ।

सांसदमा मनोनित भएपछि पनि अध्यक्ष नछाड्ने उनको रणनीति छ । तर, अनेरास्ववियुमा चुनावबाट नयाँ नेतृत्व चयन नभएको धेरै वर्ष भइसकेको छ ।

मनोनयनको प्रणाली हावी हुँदै गर्दा संगठनमा दुःख गर्ने भन्दा चाकडी गर्ने प्रवृत्ति बढेको छ । बराल अध्यक्ष भएपछि अध्यक्ष पद छाड्न उनीमाथि दबाब बढेको छ ।

तर, महाधिबेशन गराएर मात्र बिदा हुने उनको अडान छ । एमालेले आगामी चैतभित्र जनवर्गीय संगठनको महाधिवेशन गराउने निर्णय गरेको छ ।

तर, अनेरास्ववियुमा त्यसको कुनै सुरसार छैन । भावी अध्यक्षका दाबेदारहरू आरसी लामिछाने, समिक बडाल, यम पाण्डे लगायत नेताहरू भने छिटो महाधिवेशन गराउने पक्षमा देखिएका छन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १५:२२