सूचनाको शक्ति - The Power Of Information

        

भिजिबिलिटी कम हुँदा उडान अवतरण प्रभावित

भिजिबिलिटी कम हुँदा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएका छन् । यस्तै, अन्य पहाडी र तराईका विमानस्थलबाट पनि उडान अवतरण हुन सकेको छैन ।

हुस्सुका कारण भिजिबिलिटी झन् झन् घट्दै गइरहेको छ । बिहान दुई हजार मिटर रहेको भिजिबिलिटी ७ बजेपछि १६ सयमा झरेको छ । यसले गर्दा उडान अवतरण प्रभावित भएका छन् ।

अहिले कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्ने क्षमता भएका जहाजलाई मात्रै उडान अवतरण गर्ने अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

१६ सयभन्दा माथिको भिजिबिलिटी आवश्यक पर्ने सबै जहाज रोकिएका छन् । लगातारको बाक्लो हुस्सुले तराईका जिल्लाको उडान अवतरण भने हरेक दिनजसो प्रभावित हुन थालेको छ ।

मौसम खुलेपछि मात्रै उडान अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ । बिहानको उडान ढिलाइ हुने भएकाले यात्रुलाई त्यहीअनुसार तयार हुन आग्रह गरिएको छ ।

समयमा नै उडान अवतरण नभएकाले मौसम खुलेपछि विमानस्थलमा चाप पर्ने देखिएको छ । यस्तै, भिजिबिलिटी कम हुँदा सडक दुर्घटनाको जोखिम पनि उच्च हुन्छ ।

दुर्घटना रोकथामका लागि तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ०८:१९