सूचनाको शक्ति - The Power Of Information

        

पाँच पटकसम्म म्याद थपिँदा पनि सिँचाइ आयोजना अधुरै

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत जानकी गाउँपालिका –९ कटाक्षेमा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो । सन् २०१४ मा सुरु भएको विद्युत् गृह निर्माणको काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको समयावधि पनि सर्दै गएको छ ।

आयोजना निर्माणमा देखिँदै आएको समस्याका कारण समयमै काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको काम प्रभावित भएको छ । हालसम्म आयोजना पाँचौँ पटक म्याद थप भएको छ । पछिल्लो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म रहेको छ । तर पछिल्लो थप गरिएको समयमा पनि विद्युतगृह निर्माण सम्पन्न नहुने सम्भावना बढेको छ ।

आयोजनाका प्रमुख केदार श्रेष्ठले २०७८ वैशाखमा नयाँ वर्षको अवसर पारेर विद्युत् गृहमा पानी खसाउने योजना बनाएका थिए । त्यो योजना सफल नभएपछि आयोजनाको काम एक वर्ष लम्बियो । पछिल्लो पटक असोज महिनामा आएको बाढीले विद्युत्गृह निर्माणको काममा क्षति पु¥याएका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिए ।

उनले जडान भइसकेका उपकरण पुनः मर्मत गर्नुपर्ने भएकाले काममा ढिलाइ बताए । ‘जडान भएको सामान बाढीले क्षति पुगेपछि झिकेर मर्मत गर्नुपर्ने भयो,’ सूचना अधिकारी लासिबाले भने, ‘त्यसभन्दा पहिले विद्युतको सामान आयातमा समय लागेकाले पनि समयमा काम सम्पन्न हुन सकेन ।’ तुन्दी कन्स्ट्रक्सनले जिम्मा पाएको विद्युतगृह निर्माणको काममा बेलाबेलामा विभिन्न अवरोध खेप्नुपरेको कम्पनीका इञ्जिनीयर उदय पोख्रेल बताउँछन् ।

उनका अनुसार सुरुका दुई वर्ष वन विभागले रुख काट्न आदेश नदिएका कारण निर्माणको काम रोकिएको थियो । बाढीले जडान भएका सामानमा क्षति पुर्याउँदा त्यसलाई पुनः खोलेर जडान गर्नुपर्ने भएपछि काममा ढिलाइ भएको उनले बताए । ‘काम रोकिएको छैन । निरन्तर भइरहेको छ,’ इञ्जिनीयर पोख्रेलले भने, ‘समयसमयमा देखा परेका समस्याका कारण आयोजनाको काम लम्बिएको हो ।’

उनले आयोजनाको म्याद चैतसम्म मात्रै भए पनि सबै काम सम्पन्न गरेर विद्युत् उत्पादन गर्न अझै असारसम्म लाग्ने बताए । ‘एउटै काम दोहोर्याएर गर्नुपर्दा समय लाग्ने भएको हो’, पोख्रेलले भने, ‘आयोजनाको करिब ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । असार मसान्तसम्म सहजरूपमा सम्पन्न हुन्छ ।’ विद्युतगृह नेपाल सरकारको करिब रु ९० करोडको लागतमा निर्माण हुन लागेको हो ।

करिब रु ८० करोड लागतमा निर्माण हुने भनिए पनि आयोजनाको पछि डिजाइन परिवर्तन भएपछि रु १० करोड लगानी थप भएको हो । यसबाट ४ दशमलव ७१ मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ । यहाँ उत्पादित विद्युत् आयोजना क्षेत्रभित्रका बासिन्दालाई उपभोगका लागि वितरण गर्ने आयोजनाको उद्देश्य छ । आयोजनाले विद्युत्बाट भएको आम्दानीले सिँचाइ आयोजना मर्मत सम्भार लगायतका काममा खर्च गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १६:२२