कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरुलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ, शैली फेरिएको छ, जोखिम बढेको छ ।
मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । न्यूनीकरणमा चुनौतीहरू थपिएका छन् । महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेका छन् । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको देखिन्छ ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरूमात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरुमा शहरकै शिक्षित महिलाहरु पनि बेचबिखनको जोखिममा पर्न थालेको विभिन्न तथ्यांकहरुले देखाइरहेका छन् ।
‘मानव बेचविखनका लागि नेपाल ट्रान्जिट बन्दै गएको छ,’ माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘बेचविखनविरुद्ध काम गर्ने संघसंस्थाहरु न्यूनीकरणका लागि प्रयासरत छन् । तर मानव दलालले फरक शैली अपनाइरहेका छन् । यो चुनौतिपूर्ण छ ।’
बेचबिखनमा आएको परिवर्तित शैलीबारे उनले भने, ‘सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा (च्याट) गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ ।’
उनका अनुसारसामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्ररुपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिलामात्रै होइन शिक्षित र शहरिया महिलाहरु पनि जोखिममा छन् ।
‘सामाजिक सञ्जालका माध्यमबाट हुने सम्पर्क डरलाग्दो छ,’ उनले भने । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेको पनि देखिन्छ ।
मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको पनि संयोजक कोइरालाले बताए । उनले टिकटकको दुरुपयोग बढिरहेकोले सावधान रहनुपर्ने बताए ।
विशेषगरी किशोरावस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । ‘पछिल्लो समय अधिकांश व्यक्तिले टिकटक चलाउँछन्, तर प्रविधिको दुरुपयोग भई जोखिमका घटना हुन थालेका छन्,’ उनले भने ।
टिकटकबाट सम्बन्ध विस्तार गरी घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको पनि उनले बताए । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्दारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो ।
माइती नेपालका अनुसार टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका ६ जनालाई जमुनाह नाकामा फेला पारी परिवारको सम्पर्कमा पुर्याइएको पनि संयोजक कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छोडेका १२ जना युवती बेचबिखनको जोखिममा परेको भन्दै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा निवेदन दिएका छन् ।
माइती नेपालले सन् २०२२ मा जोखिमपूर्ण यात्रामा रहेका ५२९ जनालाई जमुनाह नाकाबाट उद्धार गरेको जनाएको छ । श्रम र यौन शोषणमा परेका १० जनाको उद्धार गरिएको छ । तीमध्ये नौ जना भारतबाट र एक जना खाडी मुलुकबाट उद्धार गरिएको हो । खोजतलासका ६९३ निवेदन परेकोमा २४९ मात्रै फेला परेका छन् ।
माइती नेपालका अनुसार २० वर्षको अवधिमा सात हजार ५७२ जना हराएको निवेदन परेकोमा एक हजार ६३८ जना मात्रै फेला परेका छन् । भारत तथा खाडी मुलुकमा उद्धारका लागि सरकारी स्तरको प्रभावकारी संयन्त्र नभएका कारण जोखिममा रहेकाको उद्धारमा कठिनाइ हुँदै आएको माइती नेपालले जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके