सूचनाको शक्ति - The Power Of Information

        

मौसममा पश्चिमी वायुको प्रभाव

सावधान ! आगामी तीन दिन हुनेछ अत्यधिक चिसो

पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ ।

आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए ।

उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे । उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए ।

उनले पश्चिम बंगालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए । उनले मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए । उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरूमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए ।

जलवायुविज्ञ उप्रेतीले जनवरी, फेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए । उनले हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदूषणमा पर्ने बताए ।

उनले भने, ‘पछिल्लो समय एकपछि अर्को पश्चिमी वायुका कारण चिसो बढेको छ । पश्चिमी क्षेत्रबाट प्रवेश गरेको वायुले नेपालको तराई क्षेत्रमा र पहाडी क्षेत्रमा पनि केही हिमाल भन्दा माथि जान्छ, केही हिमालभन्दा तल जान्छ । अहिलेको परिस्थितिमा उत्तरबाट हावा पश्चिम हुँदै दक्षिणतिर बहिरहेको छ । जस कारण हिमालको चिसो हावा तल आइरहेको छ । चिसो हावा तल आइरहेकाले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा लगभग सितलहरकै अवस्था रहन्छ ।’

जलवायुविज्ञ डा. उप्रेतीले अहिले समुन्द्री सतहको तापक्रम औसतभन्दा कम रहेकाले चिसो बढिरहेको बताए । उनले न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शितलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे ।

तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको बताए । हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढ्ने बताए । गत वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने बताए ।

उनले मौसम अनुकूल नहुँदा पश्चिम तराईका केही जिल्लाहरूमा चिसोका कारण बिरामीहरू बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लाहरुमा समेत यसको प्रभाव देखिने बताए । डा. उप्रेतीको देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँड्डुल भरसक नगर्ने वा घरभित्रै व्यायाम गर्ने, न्यानो लुगा लगाउने, पानीमा धेरै बेर नभिज्न सुझाव छ ।

त्यसैगरी, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल तथा ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गरेमा पनि सहज हुने उनले बताए । त्यस्तै, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न पनि उनको सुझाव छ ।

प्रकाशित मिति : १७ पुष २०७९, आइतवार १५:५०